सामसुङ नोट ७ पड्किने डर छ? यसरी जाँच्नुस्



note7

ब्याट्री पड्किने समस्याले डेढ साता अगाडि एक्कासि बिक्री वितरण बन्द गरेको सामसुङले ग्यालेक्सी नोट ७ धमाधम फिर्ता लिन थालेको छ । अमेरिकामा बिक्री भएका झन्डै १० लाख मध्ये अहिलेसम्म १ लाख ३० हजार सेट फिर्ता भइसकेका छन् ।

अहिलेसम्म ‘ओभर हिटिङ’ र पड्किने समस्याका ९२ घटना सार्वजनिक भएका छन् । बिभिन्न देशले हवाई यात्रामा यो फोनमाथि प्रतिबन्द समेत लगाएका छन् ।

सामसुङले आफ्नो फोन फिर्ता गर्न आफूले किनेको आउटलेट वा सेवा प्रदायककोमा सम्पर्क राख्न आह्वान गरेको छ । फिर्ता भएका फोनलाई ग्राहकको चाहना अनुसार नयाँ सुरक्षित फोन वा अरू विकल्प रोज्न दिनेछ । नोट ७ को विकल्पमा ग्यालेक्सी एस ७ बाज एस ७ एज लिन सकिने छ । वा आफ्नो रकम फिर्ता पाउन सकिने पनि कम्पनीले जनाएको छ ।

सुरक्षित छ, छैन कसरी जाँच्ने?

सामसुङले आफ्नो आधिकारिक वेब साइटमा फोनको सुरक्षा चेक गर्ने टुल उपलब्ध गराएको छ । फोनको आइएमइआइ नम्बर वा सिरियल नम्बरका आधारमा सुरक्षित भए नभएको जाँच्न सकिन्छ ।

१. आफ्नो सेटको आइएमइआइ नम्बर पत्ता लाउनुहोस् । यसका लागि फोनको Apps > Settings > About Phone or General Management > Status > IMEI information or Serial number गएर हेर्न सक्नुहुन्छ । फोन अन गर्न नै असुरक्षित ठान्नुहुन्छ भने फोनको पछाडी लोगोको तल भएको सिरियल नम्बर वा आएमइआई नम्बर पत्ता लगाउनुहोस् ।

२. यो लिंकमा क्लिक गरी सामसुङको सेफ्टी चेक टुलमा जानुहोस् : IMEI or Serial number लेखेको बक्समा आफ्नो नम्बर राखी चेक बटन थिच्नुहोस् ।

३. तपाईँको फोन असुरक्षित ठहरियो भने फोनलाई तत्काल बन्द गर्नुहोस् र फिर्ताको प्रकृयामा जानुहोस् ।


क्लिकमान्डु