टेलिकमले पायो फोरजी चलाउने अनुमति



nepal_telecom

काठमाडौं । फोरजी प्रविधिमा दूरसञ्चार सेवा सञ्चालन गर्न पहिलो पटक नेपाल टेलिकमले अनुमति पाएको छ । फोरजी लाइसेन्सका लागि टेलिकमसहित एन सेल र स्मार्ट टेलिकमले पनि नेपाल दूरसञ्चार प्राधिकरणमा दुई महिना अगाडि आवेदन दिएका थिए ।

प्राधिकरणले टेलिकमलाई फोरजी सञ्चालनको अनुमति दिइएको पत्र आइतबार पठाएको छ । पत्रमा टेलिकमलाई फोरजी सञ्चालनको सेवा सुरू हुने मिति सहित ‘रोल आउट प्लान’ पठाउन भनिएको छ । सँगै आवेदन दिने एन सेल र स्मार्ट टेलको बारेमा भने प्राधिकरणले कुनै निर्णय गरेको छैन् ।

फोरजी सञ्चालनमा आएपछि द्रुत गतिमा इन्टरनेट चलाउन मिल्ने र टेलिफोन सेवाको गुणस्तरमा पनि व्यापक सुधार हुने छ । अहिले मुख्य सहरी क्षेत्रमा थ्रिजी र ग्रामिण क्षेत्रमा टुजीमै दुरसञ्चार सेवा सञ्चालनमा छ ।

असारमै फ्रिक्वेन्सी नीतिमा परिमार्जन गरेर फोर जी सञ्चालनको लागि बाटो खोलेको प्राधिकरणले सेवा प्रदायकलाई लाइसेन्स दिन भने ढिलाइ गरेको थियो । फोर जीकै लागि भनेर छुट्टै फ्रिकेन्सीहरू तय भएको भए पनि तत्कालका लागि टु जी र थ्री जीले नै प्रयोग गरिराखेको १८०० मेगाहर्ज ब्यान्डमा सेवा सुरू गरिने छ ।

फोरजीको लागि तय भएका फ्रिकेन्सी लिलाम बढाबढमा जानु पर्ने भएकोले समय लाग्ने बताउँदै अहिले पुरानै फ्रिकेन्सीमा सञ्चालन अनुमति दिइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले क्लिकमाण्डुलाई बताए ।

दुइ महिनाभित्रै सुरू गर्छौ: टेलिकम

आउँदो दुई महिना भित्रै फोर जी सञ्चालनमा आउने गरि तयारी थालिएको नेपाल टेलिकमले जनाएको छ । सूरुमा काठमाडौं लगायत मुख्य शहरमा मात्र यो सेवा सुरू हुने छ । प्राधिकरणको निर्देशन अनुसार ‘सेवा सञ्चालनको योजना’ पेश गर्ने तयारी भइरहेको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । ‘यो मितिबाटै सुरू गर्न सकिने भन्ने  तय भएको छैन् तर दुई महिनाभित्र सकिन्छ भन्ने अनुमान हो । ‘ वैद्यले भनिन् ।

के हो फोरजी ?

फोरजी भनेको मोबाइल नेटवर्कको चौथो पुस्ता अर्थात फोर्थ जेनेरेसन हो । अहिले नेपालमा थ्रीजी अर्थात तेस्रो पुस्ताको नेटवर्कमार्फत मोबाइल चलिरहेको छ । थ्रीजीबाट फोरजीमा जानुको अर्थ अब स्मार्टफोन, ट्याब्लेट र ल्यापटप आदिमा छिटो, सस्तो र अझै विश्वसनिय रुपमा इन्टरनेट चलाउन सकिनु हो ।

क्षमताका आधारमा थ्रीजी भन्दा फोरजी सेवा ५ गुणा छिटो चल्छ । फोरजी सेवाको पहिलो प्रयोग गर्ने राष्ट्र दक्षिण कोरिया हो । दक्षिण कोरियाले सन् २००७ मा यो सेवा संचालनमा ल्याएको थियो । भारतमा सन् २०१२ अप्रिलदेखि यो सेवा संचालनमा ल्याइएको थियो । नेपालमा भने बल्ल यसको तयारी भएको छ ।

Mobile-Generation-4g

वानजी

वानजी अर्थात पहिलो पुस्ताको प्रविधि सन् १९८० को दशकमा प्रारम्भ भएको थियो । टुजी प्रविधि नआउदा सम्म यसको प्रयोग गरियो । यसमा एनालग प्रविधिको रेडियो सिग्नलको सहायताले खबर आदान प्रदान गर्न सकिन्थ्यो ।

टुजी

टुजी अर्थात दोश्रो पुस्ताको मोबाइल फोन प्रविधिमा डिजिटल प्रविधिको प्रयोग गरिन्छ । यसमा एक मोबाइलबाट अर्को मोबाइलमा डिजिटल रुपमा भ्वाइस अर्थात खबर प्रवाहित हुन्छ । त्यसैगरी यसको ध्वनी प्रवाहित गर्ने क्षमता पनि वानजीको तुलनामा निकै उच्च हुन्छ । यो वाहेक एसएमएस अर्थात टेक्स्ट म्यासेजका रुपमा डाटा सर्भिस पठाउन सकिन्छ । वानजीमा एसएमएस पठाउन सकिदैनथ्यो । ब्यावसायिक रुपमा टुजी प्रविधिको पहिलो प्रयोग सन् १९९१ मा फिनल्यान्डको रेडियोलिन्जा नामक कम्पनीले गरेको थियो ।

थ्रीजी

थ्रीजी सेवामा उच्च गतिको डाटा ट्रान्सफर गर्न सकिन्छ । थ्रीजी मोबाइलको प्रयोग गरी सधै इन्टरनेटसँग आवद्ध भइरहन सकिन्छ । खासगरी तीब्र गतिमा डाटा पठाउन र प्राप्त गर्नका लागि यसको प्रयोग गरिन्छ । त्यसैगरी फोन गर्ने र रिसिभ गर्ने दुवैले एक अर्काको अनुहार र हाउभाउ हेरी भिडियो कल समेत गर्न सक्छन् । तर यसरी कल गर्नका लागि कुराकानी गर्ने दुवै व्यक्तिसँग थ्रीजी सिम र त्यसै अनुसारको सुविधा भएको मोबाइल सेट हुनु आवश्यक छ ।


क्लिकमान्डु