नेपालको आफ्नै स्याटलाइट राख्न प्रस्ताव मागियो



satallite

काठमाडौं । अन्तरिक्षमा नेपालको आफ्नै स्टलाइट स्थापना गर्न नेपाल दुरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ । प्राधिकरणले बिहिबार सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरूलाई आह्वान गरेको छ ।

अन्तराष्ट्रिय टेलिकम्युनिकेसन युनियनले सन १९८४ मै नेपालका लागि छुट्टाएका दुई स्याटलाइट स्लटलाई ३१ वर्ष बितिसक्दा पनि प्रयोगमा ल्याउन सकिएको छैन् । सूचना तथा सञ्चार मन्त्रालयले यस अगाडि विभिन्न समितिहरू बनाएर अध्ययन गरेको भए पनि स्याटलाइट स्लटलाई कसरी प्रयोगमा ल्याउने भनेर टुंगोमा भने सरकार पुग्न सकेको थिएन ।

इन्टरनेट, टेलिफोन, टेलिभिजन, रेडियो लगायत सञ्चार प्रविधिका लागि अहिलेसम्म सरकार र नीजि कम्पनीहरू विदेशी स्याटलाइटकै भर पर्दै आएका छन् । ‘सूचनाको संवेदनशिलता र स्याटलाइट ब्यान्डविथका लागि बाहिरिने पुँजीका हिसाबले नेपालको आफ्नै स्याटलाइट महत्वपूर्ण छ ।’ प्राधिकरणका प्रमुख दिगम्बर झा भन्छन् ।

अर्बिटमा ५० डिग्री र १ सय २३ दसमलब ३ डिग्री इस्ट पोजिसनमा नेपालका लागि आइटियुले छुट्टाएका स्लटमा नेपालले स्याटलाइट राखेर कत्तिको उपयोग गर्न सक्छ भन्ने विस्तृत अध्ययन नै भएको छैन् । प्राधिकरणले सिधै स्टलाइट निर्माण र सञ्चालन गर्ने कम्पनीबाट प्रस्ताव (ईओआई) मागेको छ । ‘सम्भाव्यता अध्ययन पनि तिनै कम्पनीले गरून भन्ने हाम्रो सोच हो ।’ प्राधिकरण प्रमुख झा ले भने ।

प्राधिकरणले स्टालाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यवहारिक पक्षको सुझाब समेत प्रस्तावमा समेट्न भनेको छ । केही अन्तरराष्ट्रिय कम्पनीहरूले नेपाललाई उपलब्ध स्याटलाइट प्रयोगमा ल्याउन वर्षौदेखि चासो राख्दै आएका छन् । अनुभव र क्षमता हेरेर यस्ता कम्पनीबाट केहीलाई सर्ट लिस्टिङ गर्ने तयारीमा प्राधिकरण छ । सर्ट लिस्टिङमा परेका कम्पनी मध्येबाटै प्रतिश्पर्धा गराएर स्याटलाइट स्थापना र सञ्चालन गर्न दिने सोचमा सञ्चार मन्त्रालय र प्राधिकरण छन् ।


क्लिकमान्डु