कुलेखानी जलाशय अझै भरिएन, पुरा क्षमतामा उत्पादन नहुने



kulekhani
काठमाडौं । मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरुपमा नभरिँदा आगामी हिउँदमा पूर्ण क्षमतामा विद्युत् उत्पादनमा समस्या हुने भएको छ ।

मनसुन सकिन लाग्दा पनि कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

देशको ऊर्जाको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको छ । यस वर्ष वर्षा बढी भएपनि बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रुपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको हो ।

‘अघिल्ला वर्षमा पनि दसैँ तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरुपमा भरिएन’ विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले भने । जलायश भरिँदा प्राधिकरणलाई समेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ । विद्युत्को अत्याधिक माग भएको समयमा मात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमा मात्र चलाउने गरिएको छ ।

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ । कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ । सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।


क्लिकमान्डु