सरकारले उपत्यकाका २२ नगरमा १ सयवटा बस चलाउने



city-bus
काठमाडौं । सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाभित्र १ सय वटा अन्तरनगर बस सन्चालन गर्ने भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै गरेको सम्बोधनका क्रममा ६ महिना भित्र १ सय वटा बस खरिद गरी ठूला शहरमा सन्चालन गर्ने प्रतिबद्धता बमोजिम काम अघि बढाइएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा मङ्गलबार बसेको उपत्यका भित्रका २२ वटा नगरपालिकाका प्रतिनिधीहरु सम्मिलित बैठकले एकवर्ष भित्र १ सयवटा बस संचालन गर्ने गरी प्रक्रिया अगाडि बढाएका छन् ।
बस संचालनका लागि कम्पनी स्थापना गर्न प्रबन्ध पत्र निर्माणको काम अघि बढेको मन्त्रालयका सह–सचिब जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
‘२२ नगरको सहमतिमा सेवामुलक बस खरिदका लागि प्रक्रिया अघि बढेको छ, कम्पनी दर्ता र लागत तर्जुमाको काम भइरहेको छ,’ उनले भने, ‘एक बर्ष भित्र तीन किसिमका बस संचालनमा ल्याउने छौं ।’
२४ घण्टा सेवा दिने गरी बस खरिद गर्ने प्रक्रिया अघि बढेको छ । सुरुमा संचालन खर्च भनेर प्रत्येक नगरपालिकाले न्यूनतम १० लाख सहयोग गर्ने सहमति भएको पनि सह–सचिव श्रेष्ठले बताए ।
महानगरले पाँच करोड र ललितपुर नगरपालिकाले एक करोड रकम सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । कार्यालय, पार्किङलगायत बस सेवा संचालनका लागि सुरुमा न्यूूनतम १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।  १ सय बस खरिद गर्न ८० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

तीन किसिमका बस
उपत्यका भित्रका सबै नगरपालिकासम्म र चक्रपथमा सेवा दिने गरी संचालन गर्न लागिएका बस तीन किसिमका हुने छन् । पर्यटकीय स्थलसम्म सेवा दिने गरी छत खुल्ला भएको २ तले बस पर्यटकका लागि १५ वटा जति खरिद गरिने छ ।
त्यस्तै त्रिभुवन विमान स्थलबाट सन्चालन हुने गरी करिब १५ वटा बस संचालनमा हुनेछन् । त्यस्ता बसमा प्रशस्त सामान राख्न मिल्ने छ । त्यस्तै अन्य बस अपाङ मैन्त्री हुनेछन् । जसमा ब्हिल चियरकै सहायतामा बस चढ्न सकिने छ ।

एसी र ननएसी
सरकारले प्रारम्भिक चरणमा बनाएको अवधारणा अनुसार बस एसी र ननएसी दुवै सुविधा भएको संचालन गर्ने भनेको छ । पर्यटकीय स्थलमा चल्ने बसको भने माथि खुल्ला भएको पर्यटकीय स्थलको दृश्यावलोकन गर्दै यात्रा गर्ने किसिमको हुने छन् । ती सबै बसको भाडा पछि तर्जुमा गरिने छ ।


क्लिकमान्डु