४५६ मेगावाटको माथिल्लो तामाकोशीः १९ महिनामा ६ प्रतिशत मात्रै काम



upper-tamakoshi

काठमाडौं । नेपालको ‘ड्रिम प्रोजेक्ट’ मानिने माथिल्लो तामाकोशीको निर्माण कार्य कछुवाका गतिमा अघि बढेको छ । पछिल्ला १९ महिनामा आयोजनाको निर्माण कार्य जम्मा ६ प्रतिशत मात्रै भएको छ ।

भूकम्प र नाकाबन्दीको कारण निर्माणमा सुस्तता आएको आयोजनाको काम त्यसपछि पनि तीब्र बन्न सकेको छैन ।

‘भूकम्प र नाकाबन्दीका कारण यो आयोजना नराम्रोसँग थलियो, त्यसपछिको १९ महिनामा आयोजना निर्माण कार्य ६ प्रतिशत मात्रै भएको छ,’ आयोजनाका प्रवक्ता गणेश न्यौपानेले क्लिकमाडूसँग भने ।

प्रवक्ता न्यौपानेका अनुसार ०७१ चैत मसान्तमा आयोजनाको ७७ प्रतिशत काम सकिएको थियो भने ०७३ मंसिर तेस्रो सातासम्ममा आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।

‘भूकम्प र नाकाबन्दी नभइदिएको भए यतिखेर माथिल्लो तामाकोशीबाट उत्पादिन ४५६ मेगावाट विजुली बलिसकेको हुन्थ्यो,’ न्यौपानेले भने ।

भूकम्पले आयोजनाको बाँधमा पनि असर गरेको थियो । यो आयोजना नेपालीकै लगानीमा निर्माण भइरहेको देशकै सबैभन्दा ठूलो आयोजना हो ।

आयोजनास्थल भूकम्पले ठूलो क्षति गरेको दोलखा जिल्लामा पर्छ । भूकम्पले भत्काएको बाटो केही दिन अघिमात्रै सम्पन्न भएको छ । बाटो बन्न नसक्दा आयोजनालाई चाहिने निर्माण सामाग्री लैजान समस्या परेको न्यौपानेले जानकारी दिए ।

‘भूकम्पले काभ्रे भीरमा भत्काएको लामाबगर जाने मार्गमा सुरुङ मार्ग निर्माणको काम हालैमात्र सकिएको छ,’ उनले भने ।

नेपालीहरुको लगानीमा आर्थिक वर्ष २०६७/०६८ देखि सो आयोजना निर्माण सुरु भएको हो । ०७२ असार मसान्तसम्ममा ३५ अर्ब रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य थियो ।

‘हामी जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न चाहन्छौं, ०७५ असार मसान्तसम्ममा विजुली उत्पादन गर्नेगरी आयोजनाको काम अघि बढाइरहेका छौं,’ न्यौपानेले भने ।

आयोजनाको निर्माण अवधि ३ वर्ष थपिँदा लागत पनि थपिएको छ । सुरुमा ३५ अर्ब २८ करोड रुपैयाँको लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिले आयोजना बनाउन ४२ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने संसोधित अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।

‘आयोजना बन्न ढिला हुँदा झन्डै ८ अर्ब लागत थपिएको छ । यस अवधिमा डरको भाउ बढ्यो । महंगी बढ्यो । परामर्शदाताहरुको समय थप्नु प¥यो । यस्तै कारणहरुले आयोजनाको लागत बढेको हो,’ उनले भने ।


क्लिकमान्डु