बैंकिङ र बीमा बाहेकका सुचिकृत कम्पनीलाई हकप्रद र एफपिओ जारी गर्न थप शर्त



sebon1

काठमाडौं । बैंकिङ, वित्तीय र बीमा बाहेकका सुचिकृत कम्पनीले आफूखुसी हकप्रद तथा थप निस्कासन (एफपिओ) जारी गर्न नपाउने भएका छन् ।

नियामक निकाय गतिलो नभएको जलविद्युत लगायतको क्षेत्रका अन्य सुचिकृत कम्पनीले हकप्रद र एफपिओ जारी गर्ने नाममा लगानीकर्ता ठगेको भन्ने गुनासो आएपछि धितोपत्र वोर्डले विभिन्न शर्त तोकेर यसलाई ब्यवस्थित गर्न लागेको हो ।

बोर्डले हकप्रद शेयर वा एफपिओ निस्कासन सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारणसभाबाट पारित गराएको हुनुपर्ने शर्त तोकेको छ ।

यस्तै हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट पार्नुपर्ने भएको छ भने प्राथमिक निष्काशन (आइपिओ जारी) गरेको कम्तिमा २ वर्ष पूरा भएपछि मात्रै हकप्रद वा एफपिओ जारी गर्न पाइने भएको छ ।

नियमानुसार क्रेडिट रेटिङ्ग गरेपछि मात्रै हकप्रद वा एफपिओ जारी गर्न पाइने भएको छ । नयाँ ब्यवस्था अनुसार जारी पूँजी शतप्रतिशत चुक्ता भैसके पछि मात्रै हकप्रद वा एफपिओ जारी गर्न पाइने भएको छ ।

प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसके पछि मात्रै हकप्रद वा एफपिओ जारी गर्न पाइने भएको छ ।

परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरेपछि हकप्रद वा एफपिओ जारी गर्न पाइने भएको छ । बोर्डले हकप्रद वा एफपिओ निस्कासनको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्न पनि कम्पनीहरुलाई बाध्य बनाउन लागेको छ ।

कमजोर नियामक भएको क्षेत्रका सुचिकृत कम्पनीले बद्मासी गरेको गुनासो गरेपछि बोर्डले यसमा कडाइ गरेको हो । यस्तो गुनासो ब्यापक रुपमा आएपछि बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुको हकप्रद तथा एफपिओ निष्काशनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी वनाउन एवं सो सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था सिफारिश गर्न समिति गठन गरेको थियो ।

सोही समितिको सिफारिसको आधारमा बोर्डले २१ मंसिरमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १७, १८ र १९ बमोजिम हकप्रद तथा नियम १४ बमोजिम एफपिओ निष्काशन गर्ने सम्बन्धमा यस्तो शर्त निर्धारण गरेको हो ।

यस्तो व्यवस्थाबाट बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने शर्त तथा मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था हुन गई यस सम्बन्धी लगानी व्यवस्थित हुने र त्यस्ता संस्थाहरुप्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पँुजी बजारको समयानुकुल विकास तथा विस्तार हुन जाने बोर्डको अपेक्षा रहको छ ।


क्लिकमान्डु