यसकारण पो पड्किँदो रहेछ, सामसुङ ग्यालेक्सी नोट-७



sammsung-note-7

काठमाडौं । पछिलो समय सामसुङ ग्यालेक्सी नोट ७ पड्किएका थुप्रै घटना सार्वजनिक भए । कहिले फोन पड्किने त कहिले ब्याट्री पड्किने जस्ता समस्या आएको थियो । जसकारण संसारभरका सबैजसो एयरलाइन्सहरुले नोट ७ फोन बोकेर यात्रा गर्न प्रतिबन्ध नै लगाए ।

त्यसपछि समसुङले यो मोडेलको मोवाइल फोनको उत्पादन समेत बन्द गरिसकेको छ । कोरियाली कम्पनी सामसुङले बजारमा गइसकेका फोनहरु पनि फिर्ता लिइसकेको छ । पड्किने समस्याका कारण समसुङले मोबाइल बजारमा निकै ठूलो घाटा व्यहोर्नुप¥यो ।

तर, नेपालमा भने नोट ७ को औपचारिक लञ्च नभइसकेकाले समस्या नआएको सामसुङको आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष दीपक मलहोत्रा बताउँछन् ।

अहिले कम्पनीले फोन पड्किने समस्याको कारण पत्ता लगाएको जनाएको छ । कम्पनीका अनुसार ब्याट्रीको डिजाइन तथा हार्डवयरको प्लेसमेन्ट नमिलेका कारण मोबाइलमा यस्तो समस्या आएको बताएको छ ।

यो फोनका लागि भनेर सामसुङले एकदमै सानो आकारको ब्याट्री बनाइएको थियो । फोनमा आउने एस पेन राख्नका लागि ब्याट्रीको आकार सानो गरिएको थियो । ब्याट्रीको आकार सानो हुनुका साथै ब्याट्री फैलिनका लागि प्रयाप्त ठाउँ नभएका कारण ब्याट्री छिटो तातेर पड्किने गरेको थियो ।

विषेशज्ञका अनुसार ब्याट्री फैलिनका लागि कम्तिमा १० प्रतिशत ठाउँ आवश्यक पर्छ । ब्याट्री तातोका कारण फुलेमा फैलिनका लागि प्रयाप्त ठाउँ पाँउछ र ब्याट्री पड्कन पाउँदैन ।


क्लिकमान्डु