अर्थमन्त्रीले सरकारी बैंकलाई भने- समृद्ध नेपाल बनाउन तत्काल कार्ययोजना पेश गर्नुस्



krishna1
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रमुखहरुलाई बोलाएर ‘समृद्ध नेपाल’ कार्यक्रमको कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

बुधवार ती निकायका प्रमुखहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री महराले जतिसक्दो चाढो कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । आर्थिक सम्बृद्धिको कार्ययोजना मन्त्रालयले तयार पार्दै गरेको र सोका लागि सरकारी स्वामित्व भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले गर्न सक्ने कार्यक्रम पेश गर्न भनिएको हो ।

मन्त्री महराले सम्बृद्ध नेपाल निर्माणको लागि ६० बुदे कार्यायोजना बनाएका छन् । सोही कार्ययोजना कार्यान्वयनको लागि यस्तो निर्देशन दिएका हुन् । यसका अधिकांश कार्यक्रमहरु पहिले नै गर्ने भनिएका र केही कार्यक्रमहरु यस बर्षको बजेट मार्फत ल्याइएका कार्यक्रम संचालन गर्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

‘सम्बृद्ध नेपाल निर्माणको लागि वित्तीय क्षेत्रको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा उहाँले निर्देशन दिनु भएको छ, यसमा सरकारले संचालन गरेका कतिपय कार्यक्रम र अब अर्थमन्त्रालयले संचालन गर्ने कार्यक्रम त्यसमा समेटिएको छ,’ डेपुटी गभर्नर शिवाकोटीले बैठकपछि क्लिकमाण्डूसँग भने ।

बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो कार्ययोजना तत्काल पेश गर्न निर्देशन दिइएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले जानकारी दिए ।

‘उपप्रधान तथा अर्थमन्त्रीज्यूले मन्त्रालयमा बोलाएर चाढै कार्ययोजना पेश गर्न निर्देशन दिनुभएको छ, हामी अव चाढै नै यस्तो कार्ययोजना पेश गर्छाैं,’ छलफलमा सहभागी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाहले क्लिकमाण्डूसँग भने ।

सो अवसरमा मन्त्री महराले सवै नेपालीको बैंक खाता र सवै नेपालीको बीमा कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भनेर छलफल पनि गरेका थिए । यस्तै उनले बैंकहरुलाई ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी वित्तीय सेवा पुर्याउन पनि निर्देशन दिएका थिए ।

छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक लगायतका सरकारी बैंक तथा राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लगायतका सरकारी स्वामित्वका निकायहरुका प्रमुख सहभागी भएको महराका प्रेस सल्लाहका त्रिभूवन पौडेलले क्लिकमाण्डूलाई बताए ।


क्लिकमान्डु