पुस ११ देखि १५ गतेसम्म  ‘चितवन हात्ती महोत्सव’ हुने



चितवन । चितवनको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ ।

नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए ।

पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उनले जानकारी दिए ।

हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर खाना खान्छ सोही हात्तीलाई विजेता बनाइने भएको छ ।

महोत्सवमा यसपालि हात्ती वनभोज, हात्तीका छावाबीच फुटबल प्रतियोगिता, गाडा दौड, डुँगा दौड तथा विभिन्न साङ्गीतिक कार्यक्रम रहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए ।

यस्तै हात्ती सुन्दरी प्रतियोगिता र हात्ती शृङ्गारका कार्यक्रमसमेत हात्ती महोत्सवका थप आकर्षण रहेका छन् ।

नयाँ वर्ष र क्रिसमसको अवसरमा पर्यटक आफ्नो देश फर्कने गरेकाले उनीहरुलाई चितवनमै राख्न हात्ती महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सवको तयारी तीव्र भइरहेको आयोजक क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए ।
विसं २०६७ देखि स्थगित भएको हात्तीपोलो प्रतियोगितासमेत यसपालि आयोजना हुने हात्ती महोत्सवअन्तर्गत हात्तीपोलो उपसमितिका संयोजक शङ्कर सैँजुले जानकारी दिए ।

अहिले पोलो र फुटबलका लागि हात्तीलाई प्रशिक्षण दिने क्रम जारी छ । १२ वर्षअघि सौराहाको पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरु हरिभक्त घिमिरे, गिरीधारी चौधरीलगायतको पहलमा अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना गरिएको कार्यक्रमले अहिले हात्ती महोत्सवको रुप लिएको होे । रासस


क्लिकमान्डु