गोर्खा पुगेर बाबुराम भट्टराईले भने- बूढीगण्डकी आयोजनाको मुआब्जा पुनरावलोकन गरियोस्



गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको जग्गाको मुआब्जा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

जिल्ला मुआब्जा समितिले मङ्सिर ११ गते प्रतिरोपनी ५  लाख २५ हजारदेखि ८ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेपनि प्रभावित क्षेत्रका स्थानीयवासीले असन्तुष्टि जनाएकाले मुआब्जा पुनरावलोकन गर्नुपर्ने भट्टराईको भनाइ छ ।

‘बूढीगण्डकी छिटो सम्पन्न होस् भन्ने मेरो चाहना छ । पार्टीहरुको दलीय भागबन्डाको कारणले आयोजना बन्न ढिलो भइरहेको छ,’ आइतबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने ।

मुआब्जा समितिले निर्णय गरेको मुआब्जा रकमबारे प्रभावित क्षेत्रवासी सन्तुष्ट नभएकाले मुआब्जा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो ।

उचित मुआब्जा दिनुपर्ने भन्दै उनले भने,- ‘अतिपूर्वको अरुण र अतिपश्चिमको कर्णालीभन्दा बीच भागमा रहेको बूढीगण्डकी क्षेत्रको जग्गाको भाउ उच्च हुनुप¥यो भन्ने प्रभावित क्षेत्रवासीको भनाइ छ । त्यसलाई अन्यथा भन्न मिल्दैन । मुआब्जा मूल्याङ्कन अलि कम भयो भन्ने जनताको आवाज हो । त्यसैले मुआब्जा पुनरावलोकन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

बूढीगण्डकी नबनाउने खेलमा बाबुराम लागिपरेको भन्ने नेकपा (माओवादी केन्द्र)ले लगाएको आरोपबारे भट्टराईको खण्डन छ, ‘मेरो अग्रसरतामा बुढीगण्डकी विकास समिति गठन भयो । एकथरीलाई त मेरो विरोध नगरी खाएकै पच्दैन । उहाँहरुलाई मेरो भन्नु केही छैन ।’

बूढीगण्डकी राष्ट्रिय गौरवको योजना मेरो पालामा अघि बढेको हो ।’ एकहजार दुईसय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् ।


पुष्प दुलाल