काठमाडौंमा घरजग्गाको कारोबारमा छलाङ, लक्ष्यभन्दा १७३ प्रतिशत बढी राजस्व उठ्यो




काठमाडौं । घरजग्गा कारोबारमा फेरि छलाङ आएको छ । कारोबारमा आएको बढोत्तरीसँगै घरजग्गाको मूल्य पनि छोइनसक्नु भएको छ ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको घरजग्गा कारोबारबाट ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो सरकारले लक्ष्य गरेको राजस्वभन्दा १ सय ७३ प्रतिशतले बढी हो । सरकारले जम्मा ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
गत आथिर्क वर्षको यसै अवधिमा २ अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आवमा २ अर्ब ५० करोड रुपैयाँमात्रै राजस्व संकलन भएको थियो । यो तथ्यांक अनुसार गत आवहरुको तुलनामा चालु आवको प्रथम चौमासिकमा घरजग्गा कारोबार ह्वात्तै बढेको प्रष्ट संकेत गर्छ ।

चालु आवको सुरुवातदेखि घरजग्गा कारोबारमा सुधार आएको राजस्वमा उल्लेख रुपमा प्रगति भएको भुमि सुधार विभागका निर्देशक शुशिलप्रसाद आचार्यले जानकारी क्लिकमाण्डूलाई दिए ।

घरजजग्गा कारोबारमा लक्ष्य भन्दा झन्डै २ सय प्रतिशतसम्म वृद्धि हुनुको मुख्य कारण घरजग्गाको मुल्याङकन बढ्नु, नयाँ नगरपालिका घोषणा हुनु र महानगरपालिकाभित्र ०.५ प्रतिशतले रजिष्ट्रेशन शुल्क वृद्धि हुनु भएको उनको भनाई छ ।

‘ठुलो विपत्ति पश्चात पनि आर्थिक क्रियापकलाप बढेसँगै घरजग्गा कारोबार पनि बढ्ने भएकोले चालु आवमा राजस्वमा उल्लेख वृद्धि भएको हो, अघिल्लो बैशाखमा गएको भुकम्प पश्चात घरजग्गा कारोबार ठप्प भएकोमा चालु आवको सुरुवातदेखि नै सुधार आएको छ,’ आचार्यले भने ।

गत आवमा भुकम्प र नाकाबन्दीको असरका कारण घरजग्गा कारोबार पनि कम भएपछि राजस्व संकलन लक्ष्य अुनसार संकलन हुन सकेको थिएन । पछिल्लो समय वित्तिय संघ संस्थाले घरजग्गामा ब्याजदर घटाएपछि राजधानी लगायत मुलुकका मुख्य सहरी क्षेत्रमा घरजग्गा कारोबारमा वृद्धि भएको छ ।

राजधानीसँगै बाहिरका शहरहरुमा घरजग्गा कारोबारमा वृद्धि भएपछि रजिष्ट्रेशन दस्तुर वृद्धि भएको विभागको भनाई छ । गत आवमा लगातार ६ महिनासम्म तराई बन्द हुदाँ तराईका १५ वटा जिल्लामा मालपोत कार्यालय सञ्चलान हुन नसकेपछि राजस्व संकलन ठप्प भएको थियो ।

त्यसैगरी, सेयर बजारमा आएको उछालले लगानीर्ताहरुले मनग्ये आम्दानी गरेको र त्यस्तो आम्दानी घरजग्गा किन्न खर्च गरेको जानकारहरु बताउँछन् ।

‘टाढाबाठा र जानेबुझेका लगानीकर्ताहरुले सेयर बेचेर अन्य क्षेत्रमा लगानी डाइभर्ट गरिसकेका छन्,’ नेपाल धितोपत्र दलाल व्यवसायी संघका निवर्तमान अध्यक्ष नरेन्द्र सिँजापतिले भने, ‘जसले घरजग्गाको कारोबारसमेत बढाएको छ ।’


पुष्प दुलाल