कुन महिनामा सेयर किन्दा बढी फाइदा हुन्छ ?




पुस ५ गते क्लिकमाण्डुमा ‘कस्तो अवस्थामा सेयर बजार बढ्छ ? कस्तो अवस्थामा घट्छ?’ शिर्षकमा हामीले नयाँ लगानीकर्तालाइ लगानी गर्नु अघि अपनाउनु पर्ने साबधानीका विषयमा केही जानकारी दिएका थियौं ।

हामीले इतिहासका घटबढलाई समेत पृष्ठभुमिमा राखेर बजार कस्तो अवस्थामा बढ्छ वा घट्छ भन्ने कुराको आधारभुत जानकारी राखेर लगानी गर्न सुझाव दिएका थियौं । साथै एतिहासिक रुपमा सेयर बजारलाइ बिभिन्न रुपले प्रभाव पार्दै आएका मुल्य बृद्धि, ब्याज दर, म्रौद्रिक नीति, राष्ट्र बैंकका नीतिहरु, बजार हल्ला, आमसञ्चारका समाचारहरु लगायतका बारे पनि चर्चा गरिएको थियो ।

तर आधुनिक बित्त बजार माथि उल्लेखित कारक तत्वहरुका अलावा मौसमी असरबाट पनि प्रभावित हुन्छ । अर्थात, साधारण सेयरले बर्षको बाह्रै महिना उस्तै खालको नाफा वा घाटा दिदैंन ।

विश्वब्यापी रुपमा गरिएका बिभिन्न अध्ययनहरुले सामान्यतः लगानीकर्ताले बर्षको पहिलो महिना अर्थात जनवरीमा अरु महिनाको तुलनामा बढि नाफा गर्छन् । र, हप्ताको पहिलो दिन सोमबार भने गुमाउँछन् भन्ने तथ्य उजागर गरेका छन् । साथै, बर्षा, तापक्रम, आद्रता, बादल आदि जस्ता मौसमिक कारणले पनि लगानीकर्ताको मुडमा प्रभाव पारी बजार घटबढ गराउँछन् भन्ने कुरा अध्ययनहरुले पुष्टि गरेका छन् ।

सेयर बजारबाट लगानीकर्ताले सालको पहिलो ८  महिना नाफा कमाउने गरेका छन् । बाँकी ४ महिना नोक्सान बेहोरेका छन् । कात्तिकको औसत नाफा सबैभन्दा बढि देखिएको छ । पुसमा औसत नोक्सान सबैभन्दा बढि छ । असार र कात्तिकमा मात्र नाफाको संभावना ८० प्रतिशत भन्दा बढि देखिएको छ भने जेठ र फागुनमा सो संभावना ५० प्रतिशत भन्दा बढि छ ।

नेपालको सन्दर्भमा पनि लगानीकर्ताको नाफा वा घाटा बाह्रै महिना एकैनास हुँदैन । कतिपय लगानीकताले यसको अनुभूति नगरेका पनि हुन सक्छन् । तर, वित्तीय विश्लेषक नयनकृष्ण जोशीले गरेको एक अध्ययनले बजारको घटबढमा चालु महिनाले पनि फरक पार्ने निष्कर्ष निकालेको छ ।

सो अध्ययन ०५१ देखी ०६४ सम्मको तथ्याङ्कलाई आधार मानी गरिएको थियो ।

चित्रमा देखाइए जस्तै नेप्सेबाट लगानीकर्ताले सालको पहिलो आठ महिना नाफा कमाउने गरेका छन् । बाँकी ४ महिना नोक्सान बेहोरेका छन् । त्यस्तै कात्तिकको औसत नाफा सबैभन्दा बढि देखिएको छ । पुसमा औसत नोक्सान सबैभन्दा बढि छ । असार र कात्तिकमा मात्र नाफाको संभावना ८० प्रतिशत भन्दा बढि देखिएको छ भने जेठ र फागुनमा सो संभावना ५० प्रतिशत भन्दा बढि छ ।

चित्रमा देखाएजस्तै स्ट्यान्डर्ड डेभिएसन अर्थात उतारचढाव फागुनमा सबैभन्दा बढि देखिएको छ भने असोजमा सबैभन्दा कम छ ।

किन हुन्छ कात्तिकमा सबैभन्दा बढि नाफा ?

विश्लेषक जोशी कात्तिकमा बढि प्राप्तिको दुइ प्रमुख कारण औंल्याउँछन् । पहिलो, कम्पनी ऐन (२०६३) ले सार्बजनिक कम्पनीलाई कारोवार सुरु भएको १ बर्षभित्र र आर्थिक बर्षको समाप्ति पश्चात ६ महिना भित्र बार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान राखेको छ । र, बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन (२०६३) ले बैंक तथा बित्तीय संस्थाले आफ्नो बित्तीय बिवरण आर्थिक बर्षको समाप्ति पछि ५ महिना भित्र अडिट गराइसक्नु पर्छ ।

दोस्रो, सांस्कृतिक प्रभाव पनि बजारमा परेको हुनसक्छ । जस्तो, दशैं, तिहार जस्ता अधिकांश नेपालीले मनाउने ठूला चाड पर्वहरु असोज, कात्तिक महिना तिरै पर्छन् । यतिबेला सामान्यतः मानिसहरु सकारात्मक र उल्लासमय मुडमा हुन्छन् ।

लगानीकर्ताले के गर्ने ?

जोशीले गरेको सो अध्ययनले लगानीकर्तालाई चैतको अन्त्यतिर सेयर खरिद गर्न सुझाव दिन्छ । किनभने उनले गरेको अध्ययनले चैतमा सेयर सबैभन्दा सस्तो हुने र बिस्तारै बढ्दै गएर कात्तिकमा माथि पुग्ने पुष्टि गरेको छ । त्यसैले यस अध्ययनका अनुसार लगानीकर्ताले चैतमा सेयर खरिद गरि कात्तिकको अन्त्यमा बेच्दा नाफा कमाउने संभावना बढि हुन्छ ।

अन्तमा, नेपाली सेयर बजारलाई प्रभाव पार्ने धेरै कारणहरु हुन सक्छन् । ती मध्ये मौसमी कारण पनि हुन सक्छ । लगानीकर्ताले सकेसम्म धेरै कारकतत्वको अध्ययन र बिश्लेषण गरी लगानी गर्नु नै जोखिम कम गर्दै नाफा बढाउने उपयुक्त बाटो हो । स्मरण रहोस माथि उल्लेखित अध्ययनमा बि.सं २०५४ देखि २०६४ सम्मका मात्र तथ्याङक प्रयोग भएका छन् र यसका सीमितता छ ।


क्लिकमान्डु