सेयरबाट करोडपति किताबको तेस्रो संस्करण बजारमा



काठमाडौं । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । बिमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो ।

गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दशहजार प्रति विक्री भइसकेको छ ।

तेस्रो संस्करणमा धेरै विषय बस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि हटाइएको छ । जसले पाठकलाई पढ्न अझ बढी उत्प्रेरित गर्ने छ । दोस्रो सँस्कणको तुलनामा पुस्तकको आकार केहि बढेको छ तर पनि मूल्य भने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन ।

देशभरका सबै पुस्तक पसलमा पुस्तकको तेस्रो संस्करण उपलब्ध भएको प्रकाशक फाइनप्रिन्टका प्रवन्ध निर्देशक नीरज भारीले बताए ।

‘दोस्रो संस्करण अपेक्षा गरे भन्दा छिट्टै सकिएको छ ।अहिले पनि पुस्तकको मागमा कमि आएको छैन । विदेशबाट सोचे भन्दा बढी माग भएको छ ।पुस्तक पसलहरुबाटपुस्तकको माग निरन्तर भइरहेको छ । यो मागले तेस्रो संस्करणले अपेक्षाकृत सफलता हात पर्नेमा आशावादि छौं,’ उनले भने ।

पुस्तकको प्रतिक्रिया देखेर आफू उत्साहित भएको लेखक भट्टराई बताउँछन् । ‘सोसल मिडिया र इमेल मार्फत आएका पाठकका प्रतिक्रियाले अझ बढी उत्साहित बनाएको छ’ उनले भने, ‘जति पढ्यो त्यति पढौ लाग्छ । यो कितावले लगानीको भोक जगाइ दिएको छ ।’

निरन्तर उकालो लागेको सेयर बजार अहिले केहि घट्दो ट्रेन्डमा छ । यद्यपि बजारको जुनसुकै अवस्थामा पनि लगानीकर्ताले जोखिम कम गर्न आफ्नो रणनीति तयार गर्न सक्ने तरिकाहरु कितावमा समेटिएकाले पनि किताव सदावहार बन्न सक्छ ।

‘मेरा अघिल्ला पुस्तकहरु भन्दा अझ बढी सरल, सहज र सर्वसाधारणले पनि बुझ्न सक्नेभाषा र शैलीमा लेखिएकोले यो पुस्तक बढी रुचाइएको हो,’ उनले भने ।


पुष्प दुलाल