२ खर्ब ८१ अर्ब लगानीमा काठमाडौ-रसुवागढी रेलमार्ग बनाउने चिनियाँ प्रस्ताब



काठमाडौं । काठामाडौं–रसुवागढी रेलमार्ग निमार्णका लागि चिनियाँ कम्पनीले प्रस्ताव गरेको छ ।

चाइना रेलवे इन्टरनेसनल ग्रुपले सोमबार रेल विभागमा २ खर्ब ८१ अर्ब ६९ करोड ६० लाख ४० हजार रुपैयाँको लगानीमा रेलमार्ग निर्माण गर्ने प्रस्ताव पठाएको विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

कम्पनीले गरेको प्रस्ताबअनुसार आगामी ४ वर्षभित्र रेलमार्ग बनाइसक्ने उल्लेख छ । चाइना रेलवे ग्रुपले नै सो रेलमार्गको संभाव्यता अध्ययन गरेको थियो ।

१ सय ५ किलोमिटर लामो सो रेलमार्गको ९२ प्रतिशत हिस्सा सुरुङ र पुलको हुने प्रस्तावमा उल्लेख छ । इन्जिनियर उपाध्यायकाअनुसार रेलमार्ग एक लेनको मात्र हुने छ । सो मार्गमा चल्ने रेलको गति १ सय २० किलोमिटर प्रतिघण्टा हुनेछ ।

‘चिनियाँ कम्पनीले सोमबार रेल मार्ग बनाउने प्रस्ताव दर्ता गराएको छ, सो प्रस्ताबमाथि छलफल गरी निर्णय गरिने छ,’ उपाध्यायले क्लिकमाण्डूसँग भने, ‘सरसर्तीरुपमा हेर्दा आयोजनाको लागत अलि बढी हो कि जस्तो देखिन्छ ।’

सरकारले लामो समयदेखि काठमाडौं-रसुवागढीमा १ सय ५ किलोमिटर रेल मार्ग निर्माण गर्ने बताउँदै आएको थियो । चालू आर्थिक वर्षको बजेटमा सरकारले रेल मार्ग निर्माणको संभाव्यता अध्ययनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन पनि गरेको थियो ।

चिनियाँ कम्पनीले पठाएको प्रस्तावमा यो आयोजनालाई सरकार-सरकार अर्थात् जीटूजी अन्तर्गत निर्माण गर्ने उल्लेख छ । कम्पनीले रेल मार्ग निर्माणका लागि आवश्यक सम्पूर्ण रकम चीन सरकारबाट सस्तो व्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

इन्जिनियर उपाध्यायका अनुसार रेलको भार क्षमता १ करोड ५० लाख टन हुनेछ । रसुवागढी देखि काठमाडौंसम्म आइपुग्दा रेलले ६ वटा स्टेशन पार गर्नेछ ।


पुष्प दुलाल