नेपाली सेयर बजारमा कसरी लागू गर्न सकिन्छ श्रीलङ्काली मोडल ?



काठमाडौं । सेयर बजारको सुधार र बिस्तारका लागि विभिन्न माग राख्न नेपाल धितोपत्र बोर्ड पुगेका लगानीकर्तालाई बोर्डले माग पुरा गर्ने सम्बन्धमा तत्काल कदम चाल्ने आश्वासन दिएको छ ।

लगानीकर्ताका मागमध्ये गैरआवासिय नेपाली (एनआरएन) लाई बजारमा भित्र्याउनका लागि उचित कदम चाल्नुपर्ने माग पनि प्रमुख थियो । सो मागका सम्बन्धमा बोर्डका प्रवक्ता निरज गिरीले श्रीलङ्कन मोडलअनुसार अगाडि बढ्ने सोच बनाएको बताएका छन् ।

कस्तो छ श्रीलङ्काको सेयर बजार ?

श्रीलङ्काको कोलम्बो स्टक एक्सचेन्ज अहिलेको विश्वको सबैभन्दा उत्कृष्ट प्रर्दशन गरिरहेको सेयर बजार हो । सन् २००९ मा गृहयुद्धको अन्त्यसँगै सुधारको बाटोमा लम्केको श्रीलङ्काली सेयर बजारका सबै सुचक सन् २०१० देखि सन् २०१६ सम्ममा १०६ प्रतिशतले बढेका छन् । यसैवर्ष मात्र उक्त सेयर बजार २६ प्रतिशतले बढेको छ ।

कस्तो छ श्रीलङ्काको सेयर बजारमा बिदेशीलाई ब्यवस्था ?

श्रीलङ्कामा गैरआवासीयलाई धेरै रोकटोक छैन् । उनिहरुले कोलम्बो स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको कुनै पनि पूर्वस्वीकृती बिना १०० प्रतिशत सम्म सेयर खरिद गर्न सक्छन् । यो विश्वका अरु देशका तुलनामा एकदमै उदार ब्यवस्था हो । यहाँका कम्पनीले गैरआवासिय सेयर जारी गर्नुपूर्व एक्सचेन्ज नियन्त्रण बिभागको स्वीकृती लिनु पर्दैन।

करिब दश उद्योगमा भने बिदेशी लगानीलाई केहि सिमित गरिएको छ । यी उद्योगहरुमा बिदेशीको लगानी ४० प्रतिशतमा सिमित गरिएको छ । यो प्रावधानले साना र ब्यक्तिगत लगानीकर्तालाई भने खासै फरक पार्दैन । ती उद्योगहरु निम्न बमोजिम छन् ।

१.श्रीलङ्काको त्यस्ता सामानहरु उत्पादन गर्ने कम्पनी जसलाई बाहिरी बजारका कोटा निर्धरण गरिएको छ ।

२.चिया, रबर, नरिवल, कोका, चामल, चिनी र मसला उत्पादन तथा प्रारम्भिक प्रशोधन गर्ने कम्पनी ।

३.अनविकरणिय खनिजको उत्खनन् तथा प्रारम्भिक प्रशोधन गर्ने कम्पनी ।

४. काठसँग सम्बन्धित कम्पनी ।

५. माछा मार्ने कम्पनी ।

६. आम सञ्चार कम्पनी ।

७. मालसामान ओसारपसार गर्ने कम्पनी ।

८. ट्राभल एजेन्सी ।

९. ढुवानी एजेन्सी ।

साथै केहि क्षेत्रमा भने पूर्णरुपमा गैरआवासिय लगानी प्रतिबन्धित गरिएको छ ।

१. ऋण उपलब्ध गराउने कम्पनी ।
२. १० लाख अमेरिकि डलर भन्दा कम पुँजी भएको खुद्रा कारोबार गर्ने कम्पनी ।
३. समुद्रमा माछा मार्ने कम्पनी ।

श्रीलङ्काको मोडलअनुसार काम गर्दा नेपाली बजारमा पनि गैरआवासीयलाई केहि उदार ब्यवस्था हुन सक्छ । तर क्षेत्रगत रुपमा केही सिमितता र प्रतिबन्ध भने लागु हुन सक्छन् ।


पुष्प दुलाल