भूकम्पको लगत सङ्कलन गर्न २९ इन्जिनियर परिचालन

क्लिकमान्डु २०७३ पुष १८ गते १५:५७ मा प्रकाशित

पर्वत । भूकम्प गएको झन्डै दुई वर्ष पछि पर्वतका भूकम्पपीडितको लगत सङ्कलन गर्न २९ जना इन्जिनियर परिचालन गर्ने तयारी गरिएको छ ।

सरकारले भूकम्पबाट कम प्रभावित १७ जिल्लाको तथ्याङ्क अद्यावधिक गर्ने कार्यक्रम सुरु गरेपछि पर्वतमा पनि लगत सङ्कलन गर्न थालिएको हो । तत्कालिन अवस्थामा प्रहरी, प्रशासन र स्थानीय निकायलगायतले गरेको सर्वेक्षणको तथ्याङ्क फरकफरक भएपछि भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय तथ्याङ्क विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ् भूकम्पीय आवास पुनःनिर्माण आयोजनाले तथ्याङ्क सङ्कलन प्रक्रिया थालेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘ख’ वर्गमा समावेश गरेको पर्वतमा भूकम्प प्रभावित आवास पुनःनिर्माण सङ्कलन कार्यक्रमअन्तर्गत जिल्ला लगत सङ्कलन कार्यालय खोलेर काम सुरु गरेको छ ।

पर्वतका ४७ गाविस र एक नगरपालिकामा गरी ११ हजार ८०९ घरपरिवार भूकम्पबाट पीडित बनेका छन् । सबै घरधुरीमा एक जना इन्जिनियर र एक सामाजिक परिचालक परिचालन गर्ने अन्तिम तयारीमा रहेको लगत सङ्कलन कार्यालय पर्वतका प्रमुख शिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार एक जना इन्जिनियरको भागमा ४१० परेका छन् । घरमुलीसँग अन्तरवार्ता लिने, क्षतिको विवरण अध्ययन गर्ने र तुरुन्तै उक्त तथ्याङ्क प्राधिकरणमा पठाउने काम इन्जिनियरले गर्ने भएका छन् ।

आगामी फागुन १५ गतेसम्ममा सबैजसो काम सम्पन्न भइसक्ने श्रेष्ठले जानकारी दिए । सही तथ्याङ्क नहुँदा वास्तविक पीडितको पहिचान हुन समस्या भएको र विभिन्न दातृ निकायले समेत जथाभावी तथ्याङ्क आएको भन्दै गुनासो गरेपछि कम प्रभावित जिल्लाको पनि लगत सङ्कलन गर्न थालिएको हो ।

लामो समयसम्म सरकारले राहत नदिँदा कतिपयले नयाँ घर समेत बनाइ्सकेको अवस्थामा पीडितले फिल्डमा आउने इन्जिनियरलाई जस्ताको त्यस्तै अवस्था भनिदिन पनि सङ्कलन कार्यालयले आग्रह गरेको छ ।

जिल्लाका तीन सांसदसहित स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी रहने समन्वय समितिले नियमित रुपमा अनुगमन तथा सुझाव दिने भएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स