पाँच महिनापछि बस्यो लेखा समितिको बैठक, तत्काल सभापति चयन गर्न सांसदहरुको माग




काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिकमा रहेका सांसदहरुले समितिको सभापति चयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् ।

समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ सुक्लाको संयोजकत्वमा मंगलबार बसेको बैठकमा सांसदहरुले यस्तो माग गरे ।
सांसदहरुको माग पनि समितिले सभापति चयनको प्रक्रिया तत्काल अघि बढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

तत्कालीन सभापति जनार्दन शर्मा उर्जामन्त्री भएपछि नेतृत्व बिहिन बनेको समितिको बैठक ५ महिनापछि पहिलो पटक बसेको हो ।

मंगलबार बसेको बैठकले अब दैनिक छलफल गरी बेरूजु फस्र्यौट गर्दै लैजाने निर्णयसमेत गरेको छ

बजेट बेरुजुबारे छलफलका लागि पुस २५ गते २५ गते महालेखा परीक्षकको कार्यालयलाई बोलाउने निर्णय गरेको जेष्ठ सदस्य सुक्लाले जानकराी दिए । सो बैठकमा मुख्यसचिव डा. सोमलाल सुवेदीलाई पनि बोलाउने निर्णय गरेको छ ।

नेतृत्वबिहिन बनेको समितिको बैठक पाँच महिनायता बस्न नसक्दा मुलुकले धान्नै नसक्ने गरी बेरुजु बजेट चाङ लागेको छ ।

महालेखा परिक्षकको कार्यालयले ३ सय २८ अर्ब बजेट बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गर्दा समेत नेतृत्वविहिन भएकै कारण लेखा समितिको बैठक साउन २८ गतेयता बस्न नसकेको भन्दै सांसदहरुले तत्काल सभापति चयन गर्न माग गरेका हुन् ।

दलहरुबीच सहमति हुन नसक्दा सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रतिपक्षमा रहेको दललाई लेखा समितिको सभापति बनाउने प्रचलन छ । जसअनुसार अबको लेखा समितिको सभापति एमालेले पाउने छ ।


पुष्प दुलाल