खै कसरी बन्ला यो देश ? समाजशास्त्री दिपेश घिमिरेको विचार

दिपेश घिमिरे २०७३ पुष २० गते १६:२२ मा प्रकाशित


प्रसंग एकः काठमाडौको तीनकुनेदेखि माईतीघरसम्मको बाटो निर्माण सम्पन्न भएको दुई वर्ष पनि पुरा भएको छैन । कम्तीमा पनि २० वर्ष टिक्ला जस्तो यो सडक खानेपानीको पाईप विछ्याउनको लागि भन्दै भत्काउन सुरु भईसक्यो ।

अबौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक दुई वर्ष पनि नपुग्दै खानेपानीको पाईप विछ्याउनको लागि भन्दै करोडौं रुपैयाँ खर्च गरेर भत्काउन सुरु भयो । सडक अहिले विरामी अवस्थामा छ । नागरिकले आफ्नो गाँस कटाएर तिरेको करको नांगो दोहन भईरहेको छ ।

प्रसंग दुईः अघिल्लो वर्षको बर्षा सुरु हुनुभन्दा अगाडी काठमाडौको धोबी खोलाको विजुली बजार र वाग्मतीको तीनकुनेमा हिमपाईप हालेर डाईभर्सन निर्माण गरियो । तर बर्खाको समयमा यही डाईभर्सनले खोला तथा नदीलाई थुनेर तीनकुने, शान्तिनगर, अनामनगर क्षेत्रका धेरै घर डुबानमा परे । त्यसपछि तत्कालै ती डाईभर्सन भत्काएर पानी पास गरियो ।

मसँग तथ्य त छैन, तर यकिनका साथ भन्न सक्छु, त्यो डाईभर्सन हाल्दा पनि र पछि भत्काउँदा पनि निश्चित कमिसन त्योसँग सरोकार राख्ने कर्मचारीहरुले पाए । नत्र साक्षर मात्र मान्छेलाई सोध्यो भने पनि डाईभर्सन हालेर बर्खामा ती खोलाको पानी पास हुन सक्दैन भन्ने सुझाब दिन्छ । वर्षौं पढेका र लोक सेवाले योग्य भनेर जागिर दिएकाले त्यस्तो डाईभर्सन हालेर पुलको काम गर्ला भन्ने डिजाईन बनाउने र पास गर्नै सक्दैनन् ।

यो देशका कथित उच्च अधिकारी तथा प्राविधिकहरुले करको रकमको सदुपयोग गरिदिने र कम्तिमा एक दशकसम्मको दुरदर्शिता मात्रै कायम गरिदिने हो र यस्तो गलत काम गर्नेलाई पनि भ्रष्टाचारको कसुरमा कारबाही गर्ने गरि कानुन बनाउने हो भने देश आफै बन्थ्यो होला ।

देशकै राजधानी काठमाडौ उपत्यका भित्र यस्ता अनेकौ प्रसंग यत्रतत्र सर्वत्र छन् । काठमाडौ बाहिर खासगरी सरकारको र सरकारको कामको अनुगमन गर्ने निकायको उपस्थिति नै नभएका ठाउँमा यस्ता घटना कति होलान् कति ? म धेरै प्रसंगहरु उठाउन चाहन्न । माथि उल्लेख गरिएका दुईवटा प्रसंगलाई मिहिन र सुक्ष्म रुपमा विश्लेषण गर्ने हो भने नेपालको विकासे प्रवृत्ति र अवस्थालाई प्रष्टसँग बुझ्न सकिन्छ ।

पछिल्लो समय नेपाल किन बनेन ? कसरी बन्ला ? के गर्यो भने नेपालले आर्थिक रुपमा छिटो प्रगति गर्ला भन्ने बारेमा विज्ञहरुको एकपछि अर्को गर्दै गहकिला तथा वजनदार दृष्टिकोण तथा धारणा आईरहेका छन् । तर हाम्रो विकासे काममा मिल्न नसकेका तादम्यता र कर्मचारी तथा प्राविधिकहरुको यस किसिमको अदुरदर्शिता र त्यसले गर्दा भईरहेको राज्यको दोहनलाई कसैले ध्यान दिईरहेका छैनन् ।

मेलम्ची खानेपानी आयोजना बन्न सुरु भएको डेढ दशक भईसक्यो । तीनकुने माईतीघर सडकको स्तरोन्नति सहितको निर्माणको योजना बनाउँदा नै सामान्य सर्वसाधारणलाई पनि थाहा थियो कि अबको केहि वर्षमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्नको लागि यहाँ पाईप राख्नुपर्छ ।

त्यही ईन्जिनियर आफ्नो घर बनाउँदा हाउस वायरिंग तथा प्लम्बिंगमा थप एकदुई लाईन पाईप राख्नुपर्छ भन्छ । तर यत्रो ठुलो विकासको काम गर्दा भने त्यो कुरा सोच्दैन ।

तर त्यो सडक निर्माणमा संलग्न अधिकारी तथा निकायहरुलाई भने यो थाहा भएन । होस् पनि कसरी ? समयमै थाहा भयो भने यही सडक खन्ने पुर्ने, फेरि खन्ने र फेरि पुर्ने काममा आउने कमिसन तथा अतिरिक्त कमाई गुम्छ ।

जानीजानी आफ्नो अतिरिक्त कमाई कसैले गुमाउन चाहन्छ र ? नत्र यत्रो ठुलो सडक आयोजना निर्माण गर्दा जमिन मुनी २—४ वटा थप पाईप राखिदिदाँ के फरक पर्छ ? त्यही ईन्जिनियर आफ्नो घर बनाउँदा हाउस वायरिंग तथा प्लम्बिंगमा थप एकदुई लाईन पाईप राख्नुपर्छ भन्छ । तर यत्रो ठुलो विकासको काम गर्दा भने त्यो कुरा सोच्दैन । अहिले खानेपानीको पाईप विच्छ्याउन सडक खनियो । दुई वर्ष पछि विजुलीको तार विच्छ्याउन, त्यसको अर्को दुई वर्ष पछि टेलिफोनको तार विच्छ्याउन, त्यसपछि अर्को केहि विच्छ्याउन यो सडक निरन्तर खनिन्छ ।

बर्खाको समयमा बाग्मती र धोबीखोलामा कति पानी बग्छ भन्ने कुरा ईन्जिनियरिंगको कुनै सामान्य ज्ञान नभएको व्यक्तिलाई पनि राम्रोसँग जानकारी हुन्छ । हरेक वर्ष वर्खाको समयमा यी दुवै खोलाले आसपासमा ठुलै विनास लिएर बग्छ ।

तर यही खोलामा बर्खामा वारपार गर्नको लागि सानो हिमपाईप हालेर नदीलाई रोक्ने काम जानीजानी गरिन्छ । अनि खोला रोकियो भनेर त्यो डाईभर्सन भत्काउने काम गरिन्छ । तर त्यो कुन ईन्जिनियर थियो, जसले जान्दाजान्दै यस्तै गलत काममा करोडौ रुपैयाँ खर्च गर्ने डिजाईन बनायो ? यो देशमा त्यसको बारेमा खोजीनीति हुदैन । बरु उल्टै त्यही ईन्जिनियरलाई कार्यसम्पादनमा शतप्रतिशत अंक दिईन्छ । उल्टै पुरस्कृत गरिन्छ । अनि देश किन बनेन भनेर पुस्तकालयमा धाएर कारण खोज्न थालिन्छ ।

हामीसँग स्रोत पर्याप्त छ । जनशक्ती उत्तिकै छ । खर्च पनि पर्याप्त भईरहेको छ । तर काम गर्दाखेरी विभिन्न निकाय तथा सरोकारवालाहरुको बीचमा हुनुपर्ने समन्वय र सहकार्यको अवस्था कमजोर छ । अझ यस्तो समन्वय त छदै छैन भनेपनि हुन्छ ।

ग्लोबल ईन्टिग्रिटी एक्सनको एक तथ्यांकले नेपालको सार्वजनिक निर्माणमा हुने खर्चको २६ प्रतिशत भन्दा बढी रकम भ्रष्टाचार हुने गरेको देखाएको छ । खासगरी यस्ता गलत विकासका काम गर्दा हुने अतिरिक्त कमाई तथा कमिसनको कारणले गर्दा ईन्जिनियरहरु जसो गर्दा बढी कमिसन आउँछ, त्यस्तै डिजाईन गरिदिन्छन् ।

उच्च अधिकारीहरु त्यसैलाई सदर गर्छन् । नीति त्यस्तै बनाउँछन् । अनि ‘कालेकाले मिलेर खाउँ भाले’लाई व्यवहारमा प्रष्टैसँग देखाउँछन् । देशलाई जताजताबाट पायो त्यतैत्यतैबाट चुस्छन् । अनि विदेश घुम्न जाँदा केहि किताब किन्छन् । र, त्यही पढेर नेपाल किन बनेन भनेर यहाँ फर्केपछि तिनै वान्ता गर्छन् । जनता त्यही पढेर चिया पसलमा घण्टौं बहसमा उत्रिन्छन् । वास्तवमा वर्षौदेखि नेपाल यस्तै दुस्चक्रमा नराम्ररी फसिरहेको छ ।

सडक खन्दा पनि नेपालीले नै तिरेको करको पैसा खर्च हुन्छ । अनि सडक पुर्दा पनि । फेरि खन्दा, फेरी पुर्दा हरेक पटक हाम्रै करको रकम खर्च हुन्छ । यो देशका कथित उच्च अधिकारी तथा प्राविधिकहरुले करको रकमको सदुपयोग गरिदिने र कम्तिमा एक दशकसम्मको दुरदर्शिता मात्रै कायम गरिदिने हो र यस्तो गलत काम गर्नेलाई पनि भ्रष्टाचारको कसुरमा कारबाही गर्ने गरि कानुन बनाउने हो भने देश आफै बन्थ्यो होला ।

तर यहाँ त्यस्तो देखिदैन । मलाई हिजो आज यो देश कसरी चलिरहेको छ भन्ने कम चिन्ता छ । न त यो देश किन बनेन भन्ने नै । बरु मलाई सधैभरी यो देश यसैगरी मात्र चलिरहला कि भन्ने चिन्ता बढेको छ । यस्तै क्रम दोहोरिरहने हो र यो दुष्चक्रलाई अन्त्य गर्न नसक्ने हो भने खै कसरी बन्ला यो देश ?
dipesh.ghimire33@gmail.com

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस