धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार




काठमाडौं । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ ।

अबदेखि आम उपभोक्ताहरुले सुन्धारास्थित धरहराको पछाडि ताहा गल्लीमा रहेको बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामानहरु किन्न पाउने छन् ।

अन्य ठाउँको तुलनामा यो बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए ।

‘उत्पादकले शोरुमका रुपमा यहाँ सामानहरु बिक्री वितरण गर्ने भएकाले उपभोक्तालाई सस्तो पर्ने छ,’ सञ्चालक लामिछानेले भने- ‘त्यतिमात्र होइन, यस क्षेत्रमा एउटा कोठाको ३०/४० हजार रुपैयाँ भाडा पर्छ । तर, यो बजारमा १० हजारदेखि १६ हजार रुपैयाँमा सटर भाडामा लगाइएको छ । जसले पनि उपभोक्तालाई यो बजारमा सामान किन्दा सस्तो पर्ने भएको हो ।’

यो बजारमा ३६ वटा व्यवस्थित पसल रहेका छन्, जहाँ एक पसलमा एकै प्रकारका आइटम मात्रै राखिएको छ । बजारको क्षेत्रफल २ रोपनी भएकाले यहाँ आउने ग्राहकलाई पार्किङको कुनैपनि समस्या हुनेछैन । बजारमा १०० वटा मोटरसाइकल र १० वटा गाडी पार्किङ गर्न सकिन्छ । यो बजार बिहान १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ ।

‘धेरै बेच्ने, सस्तोमा बेच्ने, ब्राण्डेड र गुणस्तरीय सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको लामिछानेले बताए ।
‘बाहिरको मुल्यभन्दा आइटम हेरेर यो बजारमा ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान किन्न पाइन्छ,’ उनले भने, ‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवद्र्धन गर्न खोजेको हौं ।’
लामिछानेका अनुसार बजार निर्माणका लागि ५ करोड रुपैयाँ लगानी भएको छ । बजारमा स्वदेशी तथा विदेशी ब्राण्डेड चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहेको छ ।

नेपाली फेसनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्ले यो बजारमा राष्ट्रिय पोसाक दौरा सुरुवाललाई १६ सय रुपैयाँमै तयार गरेर उपलब्ध गराइने छ । त्यसैगरी, जाडो समयका लागि १००० रुपैयाँदेखि नै गुणस्तरीय ज्याकेटहहरु उपलब्ध गराइएको छ । त्यस्तै, हेयर स्टाइलिङ, फेसियलजस्ता सुविधाहरु पनि ५० प्रतिशतभन्दा सस्तो मूल्यमा उपलब्ध गराइन्छ । ४/५ हजार रुपैयाँमै गुणस्तरीय साडी यो बजारमा उपलब्ध छन् ।

१४ देशमा शाखा भएको लोकप्रिय अन्तराष्ट्रिय ब्राण्ड ब्रिलियर शैलुन पनि छ । बजार सञ्चालन भएको अवसरमा यो शैलुनमा आउने प्रत्येक ग्राहकले फेसवास लगायतका सामाग्री उपहारस्वरुप प्रधान गरिने छ ।

मोटरसाइकल चढ्ने उपभोक्ताहरुलाई मध्यनजर गर्दै बजारमा सस्तो मूल्यमा उच्च गुणस्तरीय हेलमेटहरु उपलब्ध छन् । त्यसैगरी, सबै ब्राण्डका मोवाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउने मात्रै होइन, केही ब्राण्डहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि छ ।

त्यस्तै, हरेक मोवाइल किन्दा ग्राहकले आकर्षक उपहार पाउनेछन् । त्यसैगरी, सस्तो बजारमा आउने उपभोक्ताले २५ सय रुपैयाँ व्यालेञ्च भएको सिमकार्ड उपहारस्वरुप प्राप्त गर्नसक्नेछन् ।

‘पैसा र गुणस्तरका हिसाबमा यो बजारमा आउने ग्राहकहरु सन्तुष्ट हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ बजारका अर्का सञ्चालक भेषराज पौडेलले भने । पौडेलका अनुसार देशभर यस्तै २५ वटा सस्तो बजार खोल्ने तयारी भइरहेको छ ।

बजारबाट फेसनसँग सम्बन्धित नयाँ–नयाँ उत्पादनको डिजाइनसमेत हुने उनले बताए । उपभोक्ताहरुले अनलाइनमार्फत बजारमा भएका सामान किन्न सक्नेछन् । त्यसका लागि fashionsastobazar.com लग इन गरी किन्न सकिनेछ ।


पुष्प दुलाल