फोरजीको सहि जानकारी र फोन छनौट गर्ने तरिका



काठमाडौं । नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर यहि आइतवारदेखि फोरजी/एलटिई प्रविधिको घोषणा गर्यो । फोरजी प्रविधिसहितको स्मार्टफोनमा प्रयोग गर्न सकिने यो प्रविधिलाई नयाँ पुस्ताको प्रविधिको रुपमा चिनिन्छ ।

नेपालमा पहिलो पटक फोरजी शुरु भएको हुँदा फोरजी के हो र कसरी चलाउन सकिन्छ भन्ने जिज्ञासा सबैमा रहेको पाइन्छ । यहि जिज्ञासालाई समाधान गर्ने कोसिस यहाँ गर्नेछौं ।

के हो फोरजी ?

फोरजी भनेको चौथो पुस्ताको वायरलेस मोबाइल प्रविधि हो जसलाई फोर्थ जेनेरेसन भनेर चिनिन्छ । यो तेस्रो पुस्ता अर्थात थ्रीजी भन्दा विकसित रुपमा रहेको छ ।

फोरजीलाई सन् २००८ मार्च महिनामा ताररहित प्रविधिको अन्तर्राष्ट्रिय मानक निर्धारण गर्ने संस्था इन्टरनेशनल टेलिकम्यूनिकेसन्स यूनियन रेडियो कम्यूनिकेसन्स सेक्टर (आइटियू–आर)ले नामाकरण गरेको हो । फोरजी सेवामा उच्च गतिको संचार (जस्तै ट्रेनहरु वा कारहरुमा) मा १०० मेगाबाइट प्रतिसेकेण्डको डाटा आदान प्रदान गर्ने तथा न्यून चलायमान संचार (जस्तै पैदल यात्रुहरु वा स्टेशनरी प्रयोगकर्ताहरु)का लागि भने १ गिगाबाइट प्रति सेकेण्डको डाटा आदान प्रदान गर्ने क्षमता हुन्छ ।

यो प्रविधिमा मोबाइल वेसमा पहुँच, आइपी टेलिफोनी, गेमिंग सर्भिस, हाइ डेफिनिसन मोबाइल टिभी, भिडियो कन्फ्रेन्सिंग, तथा थ्रिडी टेलिभिजन जस्ता एप्लिकेसनहरु प्रयोग गर्न सकिन्छ ।

फोरजीको शुरुवात

पहिलो लंग टर्म इभोल्यूसन (एलटिई) स्तर (फोरजीको प्रणाली) सन् २००९ मा स्विडेनको राजधानी स्टकहोम तथा नर्वेको राजधानी ओस्लोमा व्यवसायीकरुपमा लागू गरिएको थियो । तर यसको शुरुवाती अवस्थामा भएको फोरजी साँच्चिकै यसको स्तरअनुसारको थियो वा थिएन भन्ने अझैपनि चर्चाको विषय हो ।

करिब प्रत्येक १० वर्षमा नयाँ मोबाइल पुस्ता देखापरेको छ । यसमा सबैभन्दा पहिले सन् १९८१ मा एनालग अर्थात वानजी शुरु भयो भने सन् १९९२ मा डिजिटल अर्थात टूजी प्रशारण शुरु भयो । त्यसैगरी सन् २००१ मा थ्रिजी मल्टि मिडिया सपोर्ट आयो, जसले न्यूनतम २०० केबिपिएसको पिक बिट रेट दिन्छ । सन् २०११को अन्त्यमा भने साँच्चिकैको स्तर भएको फोरजी शुरु भएको हो ।

नेपालमा भने फोरजी प्रविधि पहिलो पटक शुरु भएको समय २००९ लाई आधार मान्ने हो भने करिब १० वर्षपछि मात्र मोबाइलमा फोरजी सेवा संचालनमा आएको छ, तर यो प्रविधि वाईम्याक्सको रुपमा यसअघि नै नेपालमा संचालमा आईसकेको भएपनि त्यति लोकप्रिया हुन सकेन् । अझैपनि विश्वका विकसित मानिने मुलुकहरुले पनि फोरजीलाई बिस्तारै संचालनमा ल्याएका छन् भने कतिपय मुलुकहरुमा अझै फोरजी पुरै संचालनमा छैन् ।

थ्रिजी वा फोरजी कुन ठिक ?

फोरजी सेवा शुरु भएपछि यो सेवा उपयोग गर्न पाउनेहरुले आफू भाग्यमानी भएको ठानिरहेका छन भने थ्रिजी मात्र प्रयोग गर्न पाउने सेवाग्राहीहरुले पछाडि परेको ठानिरहेका छन् तर त्यस्तो होईन् । थ्रिजी र फोरजीमा केहि भिन्नता छ भने यसको प्रयोगको आवश्यकता महसुस छ की छैन भन्ने हेर्नुपर्ने हुन्छ ।

थ्रिजी भनेको तेस्रो पुस्ताको प्रविधि हो जसमा २०० किलोबाइट प्रतिसेकेण्डको डाटा आदान प्रदान हुन्छ ।

अब फोरजी र थ्रिजीमा कुन प्रयोग गर्दा ठिक छ भन्ने बुझौं-

अंग्रेजीको जी शब्दले जेनेरेसन अर्थात पुस्ता भन्ने बुझाउँछ भने थ्रिले तेस्रो तथा फोरले चौथो बुझाउँछ । फोरजी थ्रिजी भन्दा तिब्र गतिको हुन्छ तर सँधै यो नहुन सक्दछ ।

यदि तपाईँ भ्वाइस अर्थात फोनमा कुराकानी मात्र गर्न मन पराउनुहुन्छ भने तपाईँलाई फोरजी आवश्यक छैन्  तर तपाईँ फोनमा कुराकानी गर्न भन्दा डाटा चलाउन चाहनुहुन्छ भने थ्रिजीबाट अपग्रेड हुनुहोस र फोरजी चलाउनुहोस् ।

यदि तपाईँको फोनमा अत्यधिक मात्रामा विभिन्न सामाजिक संजाल चलाउनुहुन्छ वा यूट्यूबमा भिडियोहरु हेर्नुहुन्छ भने तपाईँलाई फोरजी सेवा उपयुक्त हुन्छ ।

यदि तपाईँको क्षेत्रमा मोबाइलको नेटवर्क निकै कमजोर छ वा फोरजी कभरेज छैन भने त्यस्तो बेला फोरजी सेवाको कुनै महत्व हुँदैन् । यदि तपाईँको फोनमा फोरजी प्रविधियुक्त छ भने मात्र फोरजी सेवा लिनुहोस नत्र भने तपाइँको स्मार्टफोन फोरजी मैत्री नहुँदा फोरजी चल्दैन् ।

यदि तपाईँको फोन फोरजी प्रविधि युक्त छ तर सेवा प्रदायक कम्पनीहरुको सेवा थ्रिजी मात्र छ भने पनि फोरजी प्रयोग गर्न सकिँदैन् ।

कुन फोरजी स्मार्टफोनमा किन्ने?

तपाईँले थ्रिजी र फोरजीको बारेमा यति थाहा पाएपछि कुन स्मार्टफोनमा फोरजी चल्दछ भन्ने बुझ्नुपर्ने हुन्छ । बजारमा विभिन्न किसिमका फोनहरु उपलब्ध छन जसमा थ्रिजी, फोरजी, तथा फोरजी एलटिई प्रविधि भएका फोनहरु किन्न सकिन्छ । केहि माेबाइल फाेनहरूमा फाेरजी भनेर बेचेपनि चाँच्चिकै फाेरजी नहुन सक्दछ र त्यस्ताे फाेनमा ३.९ जी अर्थात एडभान्स थ्रिजी मात्र हुन्छ ।

थ्रिजी फोनहरुमा केबल टूजी तथा थ्रिजी प्रयोग गर्न सकिन्छ भने फाेरजी फाेनमा फाेरजीसहित थ्रिजी र टूजी चलाउन सकिन्छ ।

फोरजी लेखिएका लोगोसहित आएका केहि पुराना मोडलका फोनहरुमा पूर्णरुपमा फोरजी चलाउन सकिँदैन्, यस्ता फोनहरुमा ३.९ जीसम्मको प्रविधि हुन्छ जसलाई एडभान्स थ्रिजी भनेर चिनिन्छ ।

अर्को भनेको पूर्णरुपमा फोरजी प्रविधियुक्त फोन हो जसमा फोरजी एलटिई लेखिएको हुन्छ र यसमा तिब्र गतिको डाटा आदान प्रदान गर्न सकिन्छ ।

त्यसैले तपाईँले कुनैपनि ब्राण्डको फोन किन्दा फोरजी एलटिई प्रविधि भएको फोन किन्नु पर्दछ, यसको बारेमा फोनको बाहिरी खोलमा पनि उल्लेख गरिएको हुन्छ भने फोन किन्ने स्थानको बिक्रेतालाई पनि सोध्न सकिन्छ ।

अहिलेका अधिकांश रु १८,०००/- भन्दा माथिका स्मार्टफोनहरुमा फोरजी एलटिइ सेवा प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोनमा फोरजी छ कि छैन कसरी हेर्ने ?

तपाईँको स्मार्टफोनमा फोरजी सेवा चलाउन सकिन्छ कि सकिँदैन भनेर आफैंले पनि हेर्न सकिन्छ । यसको लागि तपाईँले फोनको सेटिंगमा गएर सेल्यूलर नेटवर्क वा मोबाइल नेटवर्क भन्ने स्थानमा ट्याप गर्नुहोस् ।

त्यसपछि अब तपाईँले फोरजी वा एलटिईसहितको जिएसएम नेटवर्क छनौट गर्नुहोस् । अब तपाईँ आफ्नो स्मार्टफोनमा मज्जाले फोरजी चलाउन सक्नुहुनेछ ।


क्लिकमान्डु