सेयरका लगानीकर्ता जोखिममा, धितोपत्र बोर्ड रमितेः रबिन्द्र भट्टराईको विचार




धितोपत्र बोर्डले ब्रोकरको शाखा विस्तार गर्ने कार्य गर्नु अघि जोखिम न्युनिकरणका बारेमा स्पष्ट हुनु पर्ने उल्लेख गरेको छ । यो कुरा सुन्दा लाग्छ बोर्ड बजारको जोखिमका बारेमा निकै संवेदनशील छ । वा आगामी दिनमा लागानीकर्ता निकै सुरक्षीत हुने छन् । तर लगानीकर्ता अहिले नै ढुक्क भैहाल्ने अवस्था भने छैन ।

बोर्डको प्रमुख उद्देश्य लगानीकर्ताको हित संरक्षण गर्नु नै हो । तर धितोपत्र ऐन २०६३ आएको दश बर्ष वितिसक्दा पनि बोर्डले विशेषगरी धितोपत्र व्यवसायीबाट लगानीकर्तामा सिर्जना हुन सक्ने जोखिमका बारेमा सोच्न सकेको छैन । धितोपत्र ऐन २०६३ को दफा ६३ मा उल्लेख भए अनुसार धितोपत्र दलाली, धितोपत्र व्यापार, निष्काशन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, लगानी परामर्श सेवा, सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रीय निक्षेप सेवा वा डिपोजिटरी (कस्टोडियल) सेवा, धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा, तथा बजार निर्माताको काम गर्ने सवैलाई धितोपत्र व्यवसायी भनिएको छ ।

धितोपत्र व्यवसाय लगानीकर्तासँग मात्र सम्बद्ध छैन । यसभित्र सेयर बजारका मध्यस्तकर्ता पनि पर्छन् । जो आफ्नो पैसा भन्दा पनि अरुको पैसामा आधारित भएर व्यवसाय संचालन गरिरहेका हुन्छन् ।

व्यवसायीले जति बदमासि गरे पनि, ठगे पनि, लुटे पनि अन्तिम कारवाहीको बिकल्प नियामकले ‘स्पष्टिकरण’ बाहेक अर्को छैन । जुन यति सस्तो छ जसको मूल्य शुन्य भन्दा पनि कम छ ।

यी व्यवसायमा कस्ता जोखिम छन् । र, ती जोखिमका कारण सेवाग्राही, बजार र यसको प्रणालीमा कस्तो असर पर्न सक्छ । ती जोखिमलाई न्यूनिकरण गर्न के कस्ता उपाय अवलम्बन गर्न सकिन्छ र गरिएको छ भन्ने विस्तृत अध्ययन प्रतिवेदन बोर्डसँग छैन । नत जोखिम पहिचान र न्युनिकरणका बारेमा अहिलेसम्म बोर्डले कुनै निर्देशन नै जारी गरेको छ ।

कतिपय जोखिमको न्युनिकरण बीमा मार्फत पनि गर्न सकिन्छ । धितोपत्र ऐनले हरेक धितोपत्र व्यवसायीले आफुले गर्नु पर्ने व्यवसायको बीमा गर्नु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । ऐनको दफा ७९ भनिएको छ ‘प्रतिनिधि बाहेक धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त प्रत्येक धितोपत्र व्यवसायीले बोर्डले तोकिदिए बमोजिम आपूmले गर्ने व्यवसायको बीमा गराउनु पर्नेछ ।’

तर ऐन बनेको यतिका बर्ष वितिसक्दा पनि धितोपत्र बोर्डले व्यवसायीले केको र कसरी बीमा गर्ने भन्ने कुनै खाका प्रस्तुत गर्न सकेको छैन । ऐनमा भने बमोजिम बीमाका बारेमा कुनै कुरा तोक्न सकेको छैन । सम्भवतः बोर्डलाई ऐनमा बीमाको बारेमा भएको व्यवस्थाका बारेमा जानकारी नै छैन ।

व्यवसायीले गर्नु पर्ने बीमा बारे बोर्ड बेखवर छ । अर्कोतर्फ बोर्डले बीमा गर्न कुनै निर्देशन नदिए पनि हालसम्म कति व्यवसायीले स्वेच्छिक रुपमा आफ्नो व्यवसायको बीमा गरेका छन् भन्ने बारे पनि बोर्डसँग एकिन तथ्यांक छैन ।

जोखिम न्युनिकरणका तर्फबाट नेपालको सेयर बजारलाई हेर्ने हो भने सम्पुर्ण प्रणाली भगवान भरोसामा चलेको छ । जसको सुरक्षा पशुपतिनाथले गरेका छन् भन्दा फरक नपर्ला । एक त कानुनको पालना नहुने देश, दोस्रो बदमाशी गरे के कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था नै नभएको क्षेत्रमा पर्छ नेपालको सेयर बजार ।

ऐन बनेको यतिका बर्ष वितिसक्दा पनि धितोपत्र बोर्डले व्यवसायीले केको र कसरी बीमा गर्ने भन्ने कुनै खाका प्रस्तुत गर्न सकेको छैन । ऐनमा भने बमोजिम बीमाका बारेमा कुनै कुरा तोक्न सकेको छैन ।

व्यवसायीले जति बदमासि गरे पनि, ठगे पनि, लुटे पनि अन्तिम कारवाहीको बिकल्प नियामकले ‘स्पष्टिकरण’ बाहेक अर्को छैन । जुन यति सस्तो छ जसको मूल्य शुन्य भन्दा पनि कम छ । मलाई लाग्छ नेपालका धितोपत्र व्यवसायीले कारबाहीको सामना गर्न बदमाशी गर्नु अघि नै स्पष्टिकरणका चिठी तयार पारिसकेका हुन्छन् ।

सेयर बजारमा अन्तिम पिडा पाउने भनेका यसका अन्तिम उपभोक्ता वा लगानीकर्ता नै हुन । जसले बजारको जोखिम त लिएका हुन्छन नै, त्यो भन्दा धेरै ठुलो प्रणालीगत र दन्डहिनताको जोखिम बेहोरिरहेका छन् । पोर्टफोलियो बनाएर लगानीको जोखिम घटाउन सकिएला । तर दन्डहिनताको जोखिमलाइ पोर्टफोलियो बनाएर घटाउन सक्ने अवस्था छैन ।

ब्रोकरले बदमाशी गर्यो भने स्पष्टिकरण दिएर जस्तोसुकै अपराध गरे पनि उम्कन्छ । म्युचुअल फण्डले बदमाशी गर्यो त्यसरी नै उम्कन्छ । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकले बदमाशी गर्यो स्पष्टिकरण दिएर उम्कन्छ । नेपाल स्टक एक्सचेन्जले बदमाशी गर्यो उ स्पष्टिकरण भन्दा पनि न्युटनको तेस्रो नियम ‘हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रया’को सिद्धान्त लगाउछ र उम्कन्छ । आर्थिक तथा नैतिक जरिवाना कतै छैन । अनि लगानीकर्ताको हितको संरक्षण र उनीहरुको लगानीको सुरक्षा कसरी हुन सक्छ ?
भट्टराई सेयर बजार विश्लेषक हुन ।


क्लिकमान्डु