प्रतिफलको हिसाबले जलविद्युत क्षेत्र लगानीको आकर्षक क्षेत्र होइनः पशुपति मुरारका

पशुपति मुरारका अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ २०७३ पुष २४ गते ११:३५ मा प्रकाशित


आर्थिक विकासको लागि हामी कहाँबाट अगाडि बढ्नुपर्छ ?
आर्थिक विकासको कुरा गर्ने हो भने हाम्रो सोच के हुने भन्नेबाट सुरु गर्नुपर्छ । हामीलाई सियोदेखि हवाईजहाजसम्म आवश्यक पर्छ । सबै कुरा यही उत्पादन गर्छांै भनेर सम्भब हुँदैन । हाम्रा नीति निर्माताले विकासको लागि सोच्न सकेनन् जस्तो लाग्छ । एउटा उदाहरण दिन चाहन्छु । म केही अगाडि भारत गएको थियो । ठूला नोट प्रतिबन्ध लागेको अवस्था थियो । भारतमा विवाहको लागि काम गर्ने व्यवसाय (वेडिङ इन्डष्ट्री) मात्र १०० बिलियन डलरको छ । नेपालमा १ प्रतिशत मात्र आएमा त्यो १ बिलियन डलरको हुन्छ । यस्तै जलविद्युत् हाम्रो लागि ठूलो सम्भावनाको क्षेत्र हो । ऊर्जाको माग बढ्दै जान्छ । मौसमले यस्तो साथ दिएकोले शैक्षिक क्षेत्र पनि हाम्रो लागि धेरै राम्रो सम्भाबनाको क्षेत्र हुन सक्छ । अंग्रेजको पालामा दार्जिलिङमा शैक्षिक उद्योग विकास भयो । हाम्रोमा पाल्पा, दाङ र पोखरा यसको सम्भावना भएका ठाउँ हुन् । भूपरिवेष्ठित भएको हुँदा बस्तु निर्यातको लागि समस्या हुन सक्छ । तर, यी कुरामा केहीपनि चाहिदैन ।

बैदेशिक लगानी आउनको लागि पहिले उद्योग चलाउने वातावरण हुनपर्छ । नाफा घाटा भन्ने विषय पछिको कुरा हो । उद्योग चलाउनको लागि मजुदुरले म्यानेजर थुन्ने र स्थानीयले बन्द गराउन आउने ।

कपी राइट नियमलाई कडाई गर्ने हो प्रविधिका उद्योगहरु नेपालमा आउन सक्छन् । पर्यटन क्षेत्रको कुरै नगरौं । यो अपार सम्भावना बोकेको क्षेत्र हो । तर, हामी गोरो छाला भएकोलाई मात्र पर्यटक मान्छौ । खर्च कसले बढी गर्छ त्यसलाई पो हेर्नुपर्छ । सिमेन्ट उद्योग पनि धेरै सम्भावना भएको क्षेत्र हो । यी सबैको लागि चाहिने एउटा सोच हो । यसको लागि चाहिने सस्तो ऊर्जा हो । ऊर्जा निकासी गरेपनि हुन्छ । ऊर्जा मात्र नभएर पानी पनि हाम्रो लागि सम्भावना भएका क्षेत्र हो । अरु मुलुकमा हेर्नुभयो अब यो गर्नुपर्छ भनेर सरकार अगाडि आउँछ । हाम्रोमा सधै निजी क्षेत्र मात्र जानुपर्छ । हामी यो सच्चाउनुस भन्न जानुपर्ने छ । आर्थिक विकासको लागि कुनै सरकारले मेरो भिजन यो हो भनेर भनेको छ ? आजसम्म एउटा सरकारले पनि म यो क्षेत्रलाई विकास गर्न चाहन्छु भनेको छैन । सम्भावना भएका धेरै क्षेत्र छन् हामी गर्न सक्छौं ।

तपाईहरु सम्भावना भएका क्षेत्रमा बढी सेवा उद्योगलाई लिनुहुन्छ, बस्तु उत्पादनमा डराएर सेवामा गएको हो ?

त्यो कुरा छ । मानिसहरु सेवा तथा टेडिङमा लाग्नुमा कारण छ । किनभने फिक्स लगानी हुँदैन । भोलि लगानी निकाल्दा पनि समस्या हुँदैन । तर,उत्पादनमुलक क्षेत्रमा जाँदा मेसिन लगाउनुपर्छ । बाहिरिन पर्दा त्यसको लागि खर्च बढी हुन्छ । मेरो आफ्नो लगानी पनि औद्योगिक क्षेत्रमा छ । कहिलेकाही मलाई रिग्रेड फिल हुने गरेको छ । जुन किसिमका बाधा र व्यवधान हुन्छ, त्यसले मैले के कारणबाट यो क्षेत्रमा लागेको होला भन्ने अनुभव भएको हुन्छ । पैसा कमाउनको लागि अरु क्षेत्रमा पनि जान सकिन्थ्यो ।

करछली र कर योजना फरक कुरा हो । कसैले त्यो कमजोरी हेरेर कर योजना बनाएको छ भने त्यसलाई खराब मान्न सकिदैन । सोसल बिजनेशको परिभाषा अनुसार समाजलाई संलग्न गराउने र समाजलाई फाइदा दिने कुरा हो ।

उत्पादनमुलक क्षेत्रमा तपाईले भोगेको खास समस्या के हो ?

कसैले उद्योग खोल्नुप¥यो भने के के गर्नुपर्छ, त्यो एक पटक सोच्नुहोस । उद्योगको लागि दर्ता गर्नुपर्ने छ भने यसको लागि लाइसेन्स लिनुपर्छ । दर्ता गर्नको लागि वातावरणको अनुमति चाहियो । वातावरणको अनुमतिको लागि जग्गाको कित्ता नम्बर राखेर पत्रिकामा सुचना निकाल्नुपर्छ । म जग्गा किनेर वातावरणीय अनुमति लिन जाउँ भने त्यो अनुमति पाइएन भने के गर्ने ? जग्गा खरिद नगरेर वातावरणको अनुमति लिनपनि पाइदैन । यसको प्रक्रियालाई परिवर्तन गरे समस्या हट्छ । जस्तो फलानो क्षेत्रमा उद्योग राख्दा वातावरणको अनुमती लिनुपर्ने छैन भन्ने नीतिगत ब्यवस्था गरिदिए हुन्छ । त्यसको लागि सरकारले मापदण्ड तोक्नुपर्छ । सरकारको यसमा केही नोक्सान हुँदैन । उद्योग गर्नको लागि सरकार पुँजी तोक्ने गर्छ । पुँजी किन तोक्नुपर्ने । मेरो हैसियत ५ लाखको उद्योग गर्ने छ भने मैले किन नपाउने । सुनचाँदी उद्योगलाई ५० लाख चाहिन्छ भनिएको छ । एउटा कालिगढ जो आफै काम पनि गर्छ त्यसले आएको अर्डर अनुसार गहना बनाएर दिन्छ । यसको लागि पुँजी चाहिदैन । उसले त्यो उद्योग गर्न नपाउने । उद्योग आउनुभन्दा अगाडि राज्यलाई राजस्व चाहिएको छ । उद्योग आउनुभन्दा अगाडि नै घाटी निमोठिने गरिन्छ । उद्योग पहिले आउन दिनुप¥यो । राजस्वको कुरा त्यसपछि हुन्छ । उत्पादन गर्न थालेपछि राजस्व त आइहाल्छ नि । सानो पूँजी हुने मानिसले काम गर्न पाएनन् ।

१० बिगाहाभन्दा बढी जग्गा चाहियो भने भूमिसुधारको अनुमती चाहिन्छ । त्यसको लागि तीनदेखि चारवर्ष लाग्छ । सकारात्मक कुरा ऐनमा छैन । नकरात्मक कुरा मात्र लेखिएको छ । भूमिसुधार क्लियरिङ नभएमा उद्योगहरु गैरकानुनी हुन्छन् । खोज्दै जाने हो भने यस्ता गैरकानुनी उद्योग भेट्टाउन पनि सकिन्छ होला ।

बैंकमा धितो राख्नको लागि जग्गा पास गर्नुपर्छ । गैरकानूनी भएको जग्गालाई बैंकले ऋण दिदैन । कम्पनी ऐन अनुसार राजस्व उठाउने काम अर्थमन्त्रालय अन्तर्गतका कार्यालयहरुको हो । उद्योग र वाणिज्य मन्त्रालय अन्तर्गतका कार्यालयको काम राजस्व उठाउने होइन । कति सर्भिस चार्ज छ त्यो लिने र त्यसलाई चलाउन दिने हो । हजारौ उद्योगहरु कानूनी अड्चनको कारण दर्ता नभएका छन् ।

वैदेशिक लगानीको बारेमा बताइदिनुहोस् ?

बैदेशिक लगानी आउनुपर्छ, हामी सधै भन्छौ । वैदेशिक लगानी आएपछि कत्तिको दुख हुन्छ त्यो उसैैले बुझेको हुन्छ । सबैभन्दा बढी तलब त्यही कम्पनीमा र सबैभन्दा बढी हड्ताल पनि उही हुन्छ । उनीहरुले कमाएको पैसा फिर्ता लग्दा किन पैसा लगेको भनेर प्रश्न सोधिन्छ ? अरु उद्योगभन्दा बैदेशिक लगानीका उद्योगहरु पारदर्शी छन् । र, उनीहरुलाई समस्या छ । नेपाल मात्र उनीहरुको लागि लगानीको ठाउँ होइन । संसारमा धेरै देशहरु वैदेशिक लगानी भित्र्याउन चाहन्छन् । हाम्रा छिमेकी देशहरु रेड कार्पेट बिछएर बसेका छन् ।

बैदेशिक लगानी आउनको लागि पहिले उद्योग चलाउने वातावरण हुनपर्छ । नाफा घाटा भन्ने विषय पछिको कुरा हो । उद्योग चलाउनको लागि मजुदुरले म्यानेजर थुन्ने र स्थानीयले बन्द गराउन आउने । नेपालमा पहिले उद्योग खुल्छ । र, त्यसपछि मात्र त्यसलाई हेरेर बस्ती बस्छ । बस्तीले भोलि फेरी आवाज उठाएको हुन्छ उद्योगले प्रदुषण ग¥यो भनेर । प्रशासनमा गयो भने तपाईहरु बसेर मिलाउनुहोस भन्ने कुरा आउँछ । विदेशी लगानीकर्ताले पहिला न्याय प्रणाली हेर्छ । एउटा मुद्दामा १० वर्षसम्म फैसला हुँदैन । राजस्व सम्बन्धी मुद्दा वर्षौंसम्म लाग्छ । ५० प्रतिशत धरौटी राखेर मुद्दा हाल्नको लागि कठिन छ । समाजले पनि यसमा जहिले पनि व्यवसायीको मात्र दोष देखाएको हुन्छ । संचारमाध्यमले पनि व्यवसायीलाई दोषी देखाएको हुन्छ । व्यापारीलाई हेर्ने दृष्टिकोणमा ट्रेड युनियनले मजदुर मारा भन्छन् । उपभोक्ताले कालो बजारिया भन्छन् । र, राजस्वले भ्याट चोर भन्छन् । त्यो सोचमा परिवर्तन हुनुपर्छ । नेपालमा किन लगानी गर्न आउने ? विदेशी लगानीकर्ता नाफा कमाउन आउने हो । कफिको भाउँ १० रुपैयाँ वा ५० रुपैयाँ तोक्ने कुरा उत्पादकको हो । खरिद गर्ने वा नगर्ने काम उपभोक्ताको हो । गुणस्तरको अनुगमन गर्ने काम राज्यका निकायको हो । भाउँ बढी लियो भनेर जेलमा राख्दिने गर्नु भएन ।

नेपालमा फेयर बिजनेश तपाईले पाउनुहुन्छ ?

राज्यले कमजोरी दिएको छ भने त्यो सबैले प्रयोग गर्छन् । करछली र कर योजना फरक कुरा हो । कसैले त्यो कमजोरी हेरेर कर योजना बनाएको छ भने त्यसलाई खराब मान्न सकिदैन । सोसल बिजनेशको परिभाषा अनुसार समाजलाई संलग्न गराउने र समाजलाई फाइदा दिने कुरा हो । मैले देश सेवा गर्नको लागि व्यवसाय गरेको होइन, नाफा कमाउनको लागि व्यवसाय गरेको हो । राज्यलाई नियम अनुसार बुझाउनुपर्ने कर बुझाएको छु । र, मलाई चाहिने कर्मचारी र कामदार राखेको छु । मलाई कसैको माया लागेर काममा राखेको होइन ।

तपाईले आफ्नो फाइदाको लागि व्यवसाय गरेपछि क्रस चेक गर्नु राज्यको दाहित्व होइन ?

राज्यको दाहित्व हो । मैले कफि भनेर चिया तपाई दिएको छु कि छैन त्यो हेर्न पाइन्छ । डेट एक्साएर भएको सामान हेर्न पाइन्छ । तर, यो कफि ५० रुपैयाँमा किन बेचेको त्यो भन्न पाइदैन । एउटै कफि १० रुपैयाँमा पनि पाइन्छ । र, ५ सय रुपैयाँमा पनि पाइन्छ । आजको दिनमा कुनै कम्पनीले बनाएको सामान गुणस्तरको छ भन्ने उपभोक्तालाई विश्वास लागेको हुन्छ र नै ऊ त्यो मूल्य तिर्न तयार भएको हो ।

भारतसँग सम्बन्ध नकारात्मक हुँदै गएका छ, किन ?

आम जनताको धारणा भारतमा धेरै नै सकारात्मक छ । यस विषयमा बोल्दा धेरै खालका प्रतिक्रिया जनाउन सक्छन् । भारतीयहरु नेपालमा जेपनि विषयमा चासो राखेका हुन्छन् । बोर्डरमा दुईतिर फाइदा लिने मानिस होलान् । राजनीतिक विषयमा केही समस्या छ भने त्यसलाई सच्चाउनुपर्छ । आफ्नो घरमा हस्तक्षेप गर्न दिने वा नदिने कुरा हामीमा निर्भर हुन्छ । छिमेकीलाई लिभिङ रुमसम्म आउने दिने वा वेडरुमसम्म आउने दिने कुरा हामीमा निर्भर पर्छ ।

एफडिआई चाहिने भनेको भारतको पनि हो, उनीहरुको बुझाई के हो ?

समान नाफाको आधारमा कुरा गर्ने हो भने भारतीय लगानीकर्ताहरु नेपाल आउन तयार छन् । घाटा खाएर पशुपतीनाथको देश भनेर लगानी गर्न कोही पनि चाहदैन । तिम्रो लगानी सुरक्षीत छ भन्न हामीले लगानी गर्न नसक्ने । त्यही बिप्पा अरुसँग गर्दा केही नहुँने र भारतसँग गर्दा जुवा खेलेको हुने, राष्ट्रघात हुने भन्ने हुँदैन ।

त्यसमा व्यवसायीहरुले विरोध गरेको होइन ?

निजी क्षेत्रले सहयोग गरेको हो । निजी क्षेत्रले बिप्पा गर्न भनेको पनि हो । तर, उनीहरुले पाएको सुविधा हामीले पनि पाउनुपर्छ भनेको हो ।

हामी सक्रमण कालमा छौ, संघीयतामा गएका छौं, यसमा तपाइको विचार के हो ?

हाम्रो एउटा पुस्ता संक्रमणकालमा सकिएको छ । उसको जीवनकाल नै सकियो । राजनीतिक अधिकार मात्र भन्छौं । तर,आर्थिक विकासको कुरा गर्दैनौं । नेपालको लागि संघीयता लाभकारी हुँदैन । राजनीतिक नेताले केही अधिकार पाउलान् । तर,आर्थिक दृष्टिकोणले संघीयता लाभकारी हुँदैन । आजको दिनमा हामी आन्तरिक खर्च राजस्वबाट धान्न सक्दैनौं । खर्च बढ्छ र राजनीतिक द्धन्द्ध अझै बढ्छ । संविधान आएपछि मुलुकको कायापलट हुन्छ भन्ने हामीले सोचेका थियौं । भारतमा भएको संघीयता हेरौं । टाटा मोटर्स पश्चिम बंगालमा स्थापना नभएपछि गुजरातमा गयो । हरेक राज्यले आफ्नो सुविधा दिन्छ । हाम्रोमा भने संघीयतामा सुविधाभन्दा पनि कर बढी लाग्छ भन्ने लाग्छ । मेरो सिमेन्ट उद्योगको खानी एउटा प्रदेशमा पर्छ भने उद्योग अर्कोमा पर्छ । लगानी स्वागत गर्ने खालको नेता आए राम्रो होला ।

नयाँ लगानी योजना छ ?

मेरो अहिले नयाँ परियोजनामा लगानी गर्ने योजना छैन । भएका परियोजनामा लगानी थप्ने योजना हो । अर्घाखाची सिमेन्टको उत्पादन क्षमता बढाउने हो । यो गर्दा चार अर्ब लगानी थपिन्छ । पैसा घरमा लिएर जाने होइन, लगानी थप्दै जाने हो ।

तपाईहरु ऊर्जा भएन भन्नुहुन्छ, उर्जामै लगानी बढाउन सकिँदैन ?

हामीसँग सिमित स्रोत छ । मसँग १०० रुपैयाँ छ भने म बढी प्रतिफल आउने क्षेत्रमा लगानी गर्छु । लगानीको दृष्टिकोणले जलविद्युत् क्षेत्र सिमेन्टभन्दा बढी जोखिमको क्षेत्र हो । २५ वर्षको उत्पादन फिक्स छ । मौसमको कारणले आम्दानी घट्ला । तर, आम्दानी बढ्दैन । अहिले जसरी ब्याजदर बढ्दै छ, यसले सबैभन्दा बढी समस्या पारेको जलविद्युत् लगानीकर्तालाई हो । पीपीएलाई ब्याजदर र खर्च नजोड्दासम्म लगानीकर्ता आउने सम्भावना छैन । यसमा व्यवसायिक घरानाको लगानी कम पनि छ । रहरले गर्दा यसमा लगानी आएको छ । मैलेपनि यसमा लगानी गरेको छु ।

जल विद्युत्मा लगानी गर्दा कति नाफा हुँदो रहेछ ?

नाफा भएन भने लगानी हुँदैन । जलविद्युतको लगानीभन्दा अरु क्षेत्रको लगानीमा फाइदा बढी छ । जलविद्युत् कम्पनीको सेयर मुल्य बढेको छ । तर, मलाई थाह छैन, किन यसको मुल्य बढेको भन्नेमा । मैले नबुझेको कुरा पक्का पनि अरु लगानीकर्ताले बुझेका होलान् ।

तपाइको उद्योगलाई पब्लिकमा सेयर जारी गर्न किन समस्या भएको ?

विगत हेर्ने हो भने वास्तविक क्षेत्रका कम्पनीले सेयर जारी गरेपनि राम्रो भएन । तर, विगत हेरेर मात्र हुँदैन । आजको दिनमा अर्घाखाँची सिमेन्ट नाफा गरेको कम्पनी हो । नाफा भएको कम्पनीको सेयर मैले प्रतिकित्ता सय रुपैयाँको दरले किन बिक्री गर्ने ? म आफ्नो आइडिया म तपाईलाई किन फ्रिमा दिने ? आइडियाको पैसा हुँदैन ?  पारदर्शीतामा उद्योगीहरु जान चाहन्छन् । नेपालको उद्योगी र व्यवसायीहरु कपडा व्यवसायबाट उठेर आएको हो । कतिपय कुरा अज्ञानताको कारण हो । एउटा सोच मैले आफुले कमाएको पैसा किन जनतामा बाड्ने भन्ने छ । तर, यो सोचमा परिवर्तन भएको छ । हामी हाम्रो कम्पनी पब्लिकमा जाने तयारीमा छौं । राम्रो कम्पनीबाट शुरु गर्नुपर्छ भन्ने लाग्छ । रिर्टन १५ प्रतिशतभन्दा राम्रो भएको अर्घाखाचीलाई पब्लिकमा लगौं भनेर गृहकार्य गरिरहेका छौं । दुई वर्षभित्रमा वास्तविक क्षेत्रका सातभन्दा कम्पनी पब्लिकमा जाने तयारीमा छन् । भोलीको दिनमा मलाई पुँजी चाहिएको बेला बैंकको ऋणमा मात्र भर पर्ने हुँदैन । पब्लिकमा जाने विभिन्न उपायहरु छन् महासंघले यसमा छलफल गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स