किन भएन उद्यमशीलताको विकास ? दोषी को-को छन् ?

बब्रिम बिक्रम थापा २०७३ पुष २७ गते १३:१० मा प्रकाशित


पछिल्ला दिनहरुमा (बिशेष गरी २०६२/६३ को आन्दोलन पछि) अब राजनैतिक संक्रमणको अन्त्य गरी आर्थिक बिकासमा जुट्नु पर्छ भनेर राजनैतिक नेतृत्वले भन्न थालेका छन् । उनीहरुको मुखले भन्दा मात्र पनि खुसी हुनुपर्ने अवस्था किन पनि छ भने नेपालको राजनैतिक इतिहास केवल राजनैतिक दाउपेचको कागजी पुलिन्दा मात्रै बन्ने गरेको छ ।

साधन पनि राजनीति र साध्य पनि राजनीति । कमसेकम राजनीति एउटा साधन मात्र हो । र, आर्थिक बिकासका माध्यमबाट आम जनताको जीबनमा आउने सकारात्मक परिवर्तन साध्य हो भनेर उच्च नेतृत्वमा चेत पलाउनुलाई पनि सुखद नै मान्नु पर्ने अवस्था छ ।

तर कसरी हुन्छ आर्थिक बिकास वा आर्थिक क्रान्ति भन्ने बिषयमा भने पर्याप्त बहस भएको छैन । उद्यमशीताका बारेमा खासै चर्चा छैन । राजानीतिक पार्टीका कार्यकर्ताहरुले बन्द, ¥याली, झाँकी आदिबाट फुर्सद मिले कहिलेकाँही सामूहिक रुपमा बंगुर पालन वा च्याउ खेती गरेको नाटक गर्छन् ।

आम युवाहरु भने अरबको गर्मीमा हड्डी पगाल्दैछन् । तिनैले पठाएको रेमिट्यान्सले नेताहरुको उपचार खर्चको जोहो गरिन्छ । कर्मचारीहरु भुँडी भर्छन् । र, आयातित सामानहरु बेच्ने सहरबजारका मलहरु नाफा कुम्ल्याँउछन् । सक्नेहरु पढ्ने बहानामा यूरोप र अमेरिका भासिन्छन् ।

युवा उद्यमशीलताका लागि बनाइएका बिभिन्न कोष र ऋण सुबिधाहरु तिनै राजनीतिक पार्टीका कार्यकर्ताले उडाउँछन् वा त्यसै बेवारिसे भएर अलपत्र परिरहन्छ ।

अराजकता उद्यमशील मानसिकताको लागि आवश्यक अर्को तत्व हो । अराजकतालाई सामान्यत नकारात्मक हिसाबले बुझ्ने चलन छ । तर, प्रचलित मूल्य र मान्यता माथि प्रश्न गर्दै त्यसलाई चुनौति दिन सक्नु नै अराजकता हो ।

आर्थिक क्रान्ति गर्ने भनेको उद्यमशीलताको माध्यमबाट हो । उद्यमशील हुने भनेको युवाहरु हो । बुढाबुढी र केटाकेटी होइन । तर नेपालका युवाहरु किन उद्यमशील हुन सकेनन् ? यो गम्भीर प्रश्नको सोझो उत्तर आउँछ, ‘पूँजी अभावका कारण ।’

तर, नेपाल राष्ट्र बैंकले जारी गरेको कार्यक्रमहरूमा युवाहरु खासै आर्कषित हुन नसक्नुले यो तर्कमा मात्र भर पर्न नहुने कुराकोे पुष्टि गर्छ । यद्यपि, हाम्रा बैंक तथा बित्तीय संस्थाहरुको उत्पादनमुलक क्षेत्रमा ऋण दिन आनाकानी गर्ने र उपभोग्य वस्तुहरुमा ऋण प्रवाह गर्न हौसने प्रवृत्ति पनि एउटा प्रमुख कारण त हुँदै हो । तर, यो आलेख युवाहरु उद्यमशील नहुनुमा उनीहरुको सोच, मानसिकता र त्यसलाई निमार्ण गर्ने नेपाली समाजमा केन्द्रित हुनेछ ।

युवाहरु १/२ लाख भए अरब हान्निने र १०/२० लाख भए युरोप अमेरिकाको सपना देख्ने हाम्रो समाजमा खासै नौलो कुरा होइन । यो अवस्थाको सही र बस्तुगत मुल्यांकनको लागि पहिले उद्यमशीलतालाई समग्रतामा बुझ्नु पर्ने हुन्छ ।

के हो उद्यमशीलता ?
उद्यमशीलता सामान्य आयमुलक गतिबिधि मात्र नभएर ब्यक्तिको मानसिक अवस्था पनि हो । कुनैपनि ब्यक्तिको मानसिकता निमार्णमा सो ब्यक्तिले उपभोग गर्न पाएको राजनीतिक अधिकार, सामाजिक संस्कार र संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ । उद्यमशीलताको हकमा पनि यो लागू हुन्छ । त्यसैले उद्यमशीलताको आयाम बृहत रुपमा राजनीतिक, सामाजिक र सांस्कृतिक परिवेशसँग जोडिएको हुन्छ ।

उद्यमशील मनस्थितिको बिकासको लागि ब्यक्तिमा हुनुपर्ने सबैभन्दा आवश्यक तत्वहरुः १.स्वतन्त्रता, २. सृजनशीलता र, ३. अराजकता हुन् ।

स्वतन्त्रता र उद्यमशीलता
स्वतन्त्र मानसिकता उद्यमशीलताको लागि अत्यावश्यक तत्व हो । यसका लागि ब्यक्तिले उपभोग गर्न पाएका राजनीतिक अधिकारको महत्वपूर्ण भूमिका हुन्छ ।

हाम्रो प्रजातान्त्रिक आन्दोलनको इतिहास लामो भए पनि प्रजातान्त्रिक पद्धति र त्यसका लगि आवश्यक संस्थाहरु पूर्णरुपमा कार्यान्वयनमा नआइसकेका कारण हाम्रो स्वतन्त्रताको आन्दोलनको सार्थकता शाब्दिक रुपमा मात्र प्रजातन्त्रबाट लोकतन्त्र र लोकतन्त्रबाट अहिले गणतन्त्रमा सिमित भएको छ ।

जनता जहिलेसम्म आफूलाई सानो र तुच्छ ठान्छ र आफ्नो अस्तित्व नेता, कर्मचारी, प्रहरी, सेना, ब्यापारी लगायत अरु गुठीका मालिकको सेवा गर्नु र रिझाउनुमा ठान्छ तबसम्म उद्यमशील मानसिकताको बिकास संभव छैन ।

पहाडी जिल्लामा कार्यरत एक बैंकरका अनुसार, टाई सुट लगाएर सेवा दिन बसेका बैंकरहरुसँग सामान्य जनता आएर कुरा गर्न समेत धक मान्छन् । यसरी दबिएर बसेको मानसिकतामा उद्यमशीलताको लागि अत्यावश्यक सृजनशीलताको फूल फुल्नै सक्दैन ।

जीवनयापनको लागि निर्वाहमुखी कृषि र जागिर नै दुई उपाय हुन भनेर आम जनताले सोच्दासम्म उद्यमशीलताको बिकास हुनै सक्दैन ।

सृजनशीलता र उद्यमशीलता
स्वतन्त्रतासंगै उद्यमशील मानसिकताको लागि अपरिहार्य अर्को तत्व हो सृजनशीलता ।

तर, हाम्रो समाज सृजनशीलतामा खासै चासो राख्दैन । ‘अह्राएको काम गर्ने र खटाएको मानो खाने’ भने झैं अरुको भर पर्ने नेपाली समाजको चरित्र जस्तै बनेको छ ।

औपचारिक शिक्षाको बिद्यालय जान थालेदेखि नै ससाना नानीहरुको सृजनशीलतामाथि प्रहार गर्न थालिन्छ । शिक्षक, आमाबाबु र किताबको अनुसरण गर्नुु नै शिक्षा प्राप्त गर्नु सरह मानिन्छ । पढ्नु, घोक्नु र जाँच पास गर्नुलाई नै शिक्षाको मानक ठानिन्छ ।

अन्तमा, औपचारिक शिक्षाको समाप्तिसंगै ब्यक्तिमा सृजनशील ढंगले सोच्ने र काम गर्ने क्षमतामा ठूलो गिरावट आइसकेको हुन्छ । र, अरुको निर्देशनबिना काम गर्न त परै जाओस, सोच्न पनि नसक्ने हुन्छ ।

अराजकता र उद्यमशीलता
अराजकता उद्यमशील मानसिकताको लागि आवश्यक अर्को तत्व हो । अराजकतालाई सामान्यत नकारात्मक हिसाबले बुझ्ने चलन छ । तर, प्रचलित मूल्य र मान्यता माथि प्रश्न गर्दै त्यसलाई चुनौति दिन सक्नु नै अराजकता हो ।

उद्यमशीलता भनेको आविष्कार पनि हो । सामान्य ब्यवसाय गर्दा पनि त्यसलाई समय परिस्थिति अनुरुप ढाल्ने, आइपरेका चुनौतिहरुको सामना गर्ने र संचालनमा केहि नविनता ल्याउनको लागि सामान्य भन्दा फरक र अराजक सोच आवश्यक पर्छ । तर, समाजले सकेसम्म परिर्वतनलाई नस्वीर्कार्ने र अराजकतालाई अनुशासनहिनताको रुपमा ब्याख्या गर्ने हुनाले हाम्रो संस्कृति र परम्परा नै उद्यमशीलताको बाधकको रुपमा रहेको भान हुन्छ ।

त्यसैले उद्यमशीलता बिकासको लागि पूँजी र तालिम जस्ता प्राबिधिक कुरामा मात्र ध्यान नदिएर यसको बहुआयामिक पक्षका बारेमा पनि सोच्न थाल्नु पर्ने भएको छ । साथै, जनतालाई अधिकारसम्पन्न भएको बोध गराउने संस्थागत र परिपक्व लोकतान्त्रिक ब्यवस्था, सृजनशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक तथा घरायशी बातावरण र प्रचलित मूल्य, मान्यता र परम्परालाई दिइने चुनौतिलाई सहज रुपमा स्वीकार्ने संस्कृति अपरिहार्य छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स