बैदेशिक रोजगारको पीडा: श्रीमानको लासको पर्खाइमै श्रीमतीको मृत्यु

रासस २०७३ पुष २७ गते १३:३६ मा प्रकाशित

रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ-९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् ।

बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताए । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिए ।

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । उनको मृत्यु भएको लामो समय भइसक्दासमेत शव नेपाल नआएको बताइएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्
Loading...

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स