१ खर्ब ३० अर्बको कृषि कार्यक्रम संचालनमा, भक्तपूर जिल्ला आलु जोन




भक्तपुर । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहिबार भक्तपूरमा आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गरेका हुन् ।

परियोजना अन्तर्गत चालु आर्थिक बर्षमा भक्तपूर जिल्लाका लागि २ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल १ खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिए । चालु आवमा देशभर ५ अर्ब ७८ करोड ६२ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,’ ढकालले भने ।

सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उनको भनाइ छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताए । रासस


क्लिकमान्डु