लघु साना तथा घरेलु उद्यमीलार्इ कर्जा देउ: उद्योग मन्त्री



काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

उद्योग मन्त्रालयमा आज आयोजित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुको छलफलमा उद्योग मन्त्री जोशीले उद्योग क्षेत्रमा नयाँ परिवर्तन सम्भव छ भनेर मन्त्रालय अगाडी बढिरहेको भन्दै यसमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरे ।

बैंक तथा वित्तिय संस्थाहरुको लगानीको सुरक्षा गर्न सरकार सहजिकरण गर्न तयार रहेको मन्त्री जोशीले बताए ।

मन्त्री जोशीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन मन्त्रालयबाट अन्तिम मस्यौदा तयार भई अहिले विभिन्न मन्त्रालयमा छलफलको क्रममा रहेको र कम्पनी ऐन संसदीय समितिमा छलफल भै २ हप्ता भित्र नै संसदमा प्रस्तुत हुने प्रकृयामा रहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका डेपु्टी गभर्नर शिवराज श्रेष्ठले विशेष गरेर साना तथा मझौला उद्योगहरुमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको भए पनि बैंक तथा वित्तिय संस्थाहरुले अहिले सम्म त्यसको प्रभावकारी कार्यान्वयन गरेको नदेखिएको बताए ।

छलफलमा बैंकर एशासियसन, विकास बैंक संघ र फाईनान्स कम्पनीका प्रतिनिधिहरुले वित्तिय साक्षरताको अभावमा साना व्यवसायिहरु बैंक तथा वित्तिय संस्थामा कर्जाकोे लागि आउने नगरेको भन्दै सरकारले लघु, घरेलु तथा साना उद्यमीहरुलाई उद्यमशीलता सम्वन्धि तालिम प्रदान गर्ने क्रममै बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई समेत समावेश गराउन सके त्यसले परिणाम दिने बताए ।

बैंक तथा वित्तिय संस्थाहरुले आम जनताको पूँजीलाई परिचालित गरी लगानी गर्ने भएकाले लगानीको सुरक्षाका लागि सरकारको विश्वासिलो प्रतिवद्धता रहे लगानी बढाउन सकिने उनीहरुको भनाई थियो ।


क्लिकमान्डु