साँझमा मुलुकभरका उद्योग नचलाउनुः विद्युत प्राधिकरण




काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बेलुकाको सयममा उद्योग चलाए कारबाही गर्ने भएको छ । प्राधिकरणले सबै उद्योगहरुलाई पत्राचार गरी साँझको समयमा उद्योग चलाए कारबाही गरिने चेतावनी दिएको हो ।

साँझको समयमा ग्राहस्थ (घरायसी प्रयोजनको लागि) बिजुलीको माग अत्याधिक भएकोले सो समयमा उद्योग नचलाउन प्राधिकरणले भनेको हो । नदीहरुमा जलप्रवाह कम हुदै गएकोले साँझको समयमा पावर क्राइसिस रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले बेलुका साढे ४ बजेदेखि साढे ८ बजेसम्म उद्योग नचलाउन भनेको हो । प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी प्रमुख भएर आएदेखि काठमाडौं उपत्यकामा साँझको सयमा लोडसेडिङ भएको छैन ।

सर्बसाधारणलाई विद्युत दिनको लागि उद्योग बन्द गर्न भनिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले उद्योगको विद्युत कटौति गरेर घरायसी प्रयोजनको लागि विद्युत दिएको भन्ने आरोप पनि लाग्दै आएको थियो ।

‘नदीको जलस्तर घट्दै गइरहेको र भारतबाट आयातित सप्लाईमा बेलुकाको समयमा पावर क्राइसिस भइरहेकोले बेलुका १६ः३० बजेदेखि २०ः३० बजेसम्म ४ घण्टा पिकलोडको समयमा उद्योग संचालन नगर्नुहुन निर्देशन अनुसानुसार जानकारी गराइन्छ । साथै त्यस समयमा उद्योग संचालन गरेको पाइएमा नेपाल विद्युत प्राधिकरणको नियम अनुसार कारबाही गरिने ब्यवहोरा जानकारी गराइन्छ ।’ प्राधिकरणले सवै उद्योगहरुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु