इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी



इलाम, २ माघ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो ।

एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पुर्याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ ।

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय,इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताए ।

चिज,घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी,सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिए । परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् ।

आवेदकले पानीको ट्याङ्की निर्माण,अत्याधुनिक गोठ निर्माण,क्रिम सेपरेटरको,डेरी भवन निर्माण,मर्मत सम्भार गर्न,सोलार ड्रायर,छुर्पी च्याप्ने हाड्रोलिक मेसिन,डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् ।

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ । रासस


क्लिकमान्डु