ब्याजदर बढाउन ठूला निक्षेपकर्ताको ‘बार्गेनिङ’




काठमाडौं । ओम डेभलपमेन्ट बैंकका डेपुटी सीइओ बुद्धि मल्लले आफ्नो बैंकमा ९० दिनको मुद्दति निक्षेप राख्नेहरुले १० प्रतिशत व्याज पाउने र जसबाट निक्षेपकर्ताले अधिकतम लाभ लिनसक्ने भन्दै आइतबार फेसबुकमा स्टाटस लेखे ।

वाणिज्य बैंकहरुले नै १२ प्रतिशतको अफर गरेको भन्दै मल्लको उक्त स्टाटसमा युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले कमेन्ट लेखेका छन् ।

मल्ल निक्षेप लिने संस्थाका प्रतिनिधि हुन् भने बराल निक्षेप दिने संस्थाका प्रतिनिधि हुन् ।

यही स्टाटस र त्यसमा गरिएको कमेन्टबाट के बुझ्न सकिन्छ भने बैंकहरुसँग निक्षेपकर्ताहरुले अहिले ब्याजदर बढाउन सक्दो बार्गेनिङ गरिरहेका छन् ।

माघ महिनामा थप ५० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा जान्छ । त्यसले बजारमा अझ बढी तरलताको समस्या सिर्जना गर्ने भएकाले व्याजदर बढ्ने देखिन्छ ।

यतिबेला बैंकिङ क्षेत्र लगानी गर्न मिल्ने रकम (तरलता) को अभावको ठूलो चापमा छ । निक्षेपकर्ताहरुले जसको भरपुर फाइदा लिइरहेका छन् ।

राष्ट्र बैंकले व्यवस्था गरेको कर्जा-पुँजी र निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत कायम राख्न निक्षेपकर्ताहरुलाई आकर्षक व्याजदर दिन बैंकहरुबीच तीब्र प्रतिस्पर्धा छ । जसकारण भदौसम्म ५\६ प्रतिशत रहेको मुद्दति निक्षेपको व्याजदर अहिले १२\१३ प्रतिशत पुगेको छ ।

संस्थागत निक्षेपकर्ताहरुले सार्वजानिक सूचना नै जारी गरेर अधिकतम व्याजदरसहित बोलकबोल गर्न बैंकहरुलाई आह्वान गरिरहेका छन् ।

पुस २९ गते सार्वजानिक सूचना प्रकाशित गरी राष्ट्रिय बीमा कम्पनीले व्याजदर बढाबढमा रकम राख्ने जानकारी गरायो । कम्पनीले १ वर्षे मुद्दति निक्षेपमा १ अर्ब रुपैयाँसम्म राख्न लागेको सीइओ बीरबिक्रम रायमाझीले जानकारी दिए ।

बीमा समितिले सोमबार बढाबढ व्याजदरमा निक्षेप राख्ने भन्दै सार्वजानि सूचना प्रकाशित गरेको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आगामी माघ १७ गते कार्यालय समय भित्रमा बीमा समितिमा प्रस्ताब बुझाइ सक्नु पर्नेछ ।

समितिले २० देखि २५ करोड रुपैयाँसम्म मुद्दति निक्षेपमा राख्ने समितिका निर्देशक राजरमण पौडेलले जानकारी दिए ।

‘जसले बढी व्याज दिन्छ उसैलाई निक्षेप दिन्छौं,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान) ले पनि सोमबार सार्वजानिक सूचना प्रकाशित गर्दै बढाबढ व्याजदरमा बोलकबोल गर्न बैंकहरुलाई आह्वान गरेको छ । क्यानले चालु आफूसँग भएको १० करोड रुपैयाँ राख्ने जनाएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार अहिले वाणिज्य बैंकहरुले नै संस्थागत निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याज दिइरहेका छन् । र, बैंकहरुबीच व्याज बढाउने प्रस्पिर्धा कायमै रहेकाले यो दर अझ बढी हुने उनको भनाई छ ।

‘निक्षेपकर्ताले बार्गेनिङ गरिरहनै पर्दैन बैंकहरुले नै बढाबढमा व्याज दिइरहेका छन्, जसले व्याजदर अझै बढ्ने देखिन्छ,’ शाहले क्लिकमाण्डूसँग भने ।

शाहका अनुसार माघ महिनामा थप ५० अर्ब रुपैयाँ सरकारी ढुकुटीमा जान्छ । त्यसले बजारमा अझ बढी तरलताको समस्या सिर्जना गर्ने भएकाले व्याजदर बढ्ने देखिन्छ ।

‘एउटा बिन्दूमा पुगेपछि बजारले नै करेक्सन गर्छ, तर त्यो बिन्दुसम्म पुग्न अझै केही समय लाग्छ, सरकारले तत्काल खर्च बढाएन भने बैंकिङ क्षेत्र निकै ठूलो समस्यामा पर्न सक्छ, बैंकिङ क्षेत्र समस्यामा पर्नु भनेको अर्थतन्त्र समस्यामा पर्नु हो,’ उनले भने ।

०६६\६७ सालतिरको तरलता अभावमा पनि यसरी नै बैंकरुले व्याजदर बढाएका थिए । त्यसबेला वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याजदर नदिने ‘भद्र’ सहमति गरे पनि भित्रभित्रै वाणिज्य बैंकहरुले नै १४ प्रतिशतसम्म व्याज दिएका थिए ।

‘अहिलेको अवस्था पनि ०६६\६७ तिरकै जस्तो छ,’ शाहले भने ।

बैंकहरुले संस्थागत निक्षेपमा मात्रै नभई व्यक्तिगत निक्षेपमा पनि व्याजदर बढाएका छन् । जनता बैंकले १०० दिने मुद्दतिमा १० प्रतिशत, मेगा बैंकले १०० दिने मुद्दतिमा १० प्रतिशत र सिभिल बैंकले १११ दिने मुद्दतिमा ११.११ प्रतिशत ब्याज दिने सार्बजनिक सूचना प्रकाशित गरिसकेका छन् ।


पुष्प दुलाल