होन्डाको नयाँ कन्सेप्ट कार, पियानोबाट प्रभाबित



गाडी निर्माता कम्पनी होन्डाले आफ्ना ग्राहकलाई गाडी चलाउँदा नयाँ अनुभव प्रदान गर्ने गाडीको डिजाइन गरेको छ ।

बिहिबार सार्वजनिक गरिएको सानो र सहरबजारलाई ठिक्क हुने ‘निउभी’ नामक नयाँ बिद्युतीय कन्सेप्ट कारमा ‘हाना’ नामक प्रबिधि जडान गरिएको छ । जसले चालकको भावना र मुडको समेत हेक्का राखी बिभिन्न बिकल्प सुझाउने गर्छ ।

यस कारमा अरु पनि रोचक प्रबिधि राखिएका छन् । जस्तो अरु गाडी पार्क गरेर त्यसै राखेको बेला यस कारले अरु गाडीलाई बिना चालक सँगै गुडाउन सक्छन् । यसोगर्दा ती गाडीका मालिकले अतिरिक्त आम्दानी गर्न सक्छन् ।

साथै, यो गाडी चार्जमा राख्दा पनि बिद्युत महशुल कम हुने समयमा आफुलाई चार्ज गर्ने गर्छ । यो कारमा डिजिटल पेमेन्ट सिस्टम जडान गरिएको छ जसको माध्यमले बाटोका हिँड्दा सामान वा सेवा खरिद गरे कारबाटै पैसा तिर्न मिल्छ ।

यो कारको ढोका पनि फरक खालको छ । कारको फ्रेमबाट २० मिलि मिटर खुलेर यसको ढोका ९० डिग्री कोणमा माथि खुल्ने गर्छ । यसले गर्दा अत्यन्तै साँघुरो ठाउँमा पनि यो ढोका खोल्न मिल्छ । यो कारको बाहिरी भाग भने अर्ध पारदर्शी सिसाबाट बनेको छ ।

यसको डिजाइन भने घरमा राखिने पियानो बाजाको आकारबाट प्रभावित भई गरिएको कम्पनीले जनाएको छ । तर, यो एउटा कन्सेप्ट मात्र भएको र कहिले र कसरी उत्पादनमा आउँछ भन्ने कुराको भने टुङ्गो नलागीसकेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु