अब साँझ ८ बजेपछि रक्सी र चुरोट बेच्न नपाइने



काठमाडौं । सरकारले साँझ ८ बजेपछि रक्सी र चुरोट बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।

राती अबेरसम्म रक्सी र चुरोट बिक्री वितरण हुँदा त्यसले मानव स्वास्थ्य र समाजमा असर पारेको निष्कर्श निकाल्दै सरकारले यस्तो तयारी गरेको हो ।

त्यतिमात्रै होइन, १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न पाउने छैनन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सामाजिक सुधारका लागि मदिरा र सूर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाई गर्न लागेका हुन् । त्यसका लागि अर्थ मन्त्रालयले कार्यविधि तयार गरिरहेको छ ।

महराले तयार पारेको ‘सम्मृद्ध नेपाल र दीगो आर्थिक विकासको तत्कालीन कार्ययोजना’ कार्यान्वयनको चरणमा रहेको र त्यसभित्र रक्सी र चुरोट बिक्रीमा कडाई गर्न लागिएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

‘आगामी बैशाखदेखि साँझ ८ बजेपछि मदिरा र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णतया प्रतिबन्ध गरिने छ, त्यतिमात्रै होइन १८ वर्षभन्दा कम उमेरका व्यक्तिले कुनैपनि समय मदिरा तथा सूर्तीजन्य पदार्थ किन्न पाउने छैनन्,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

मूल्य अभिवृद्धि करलाई कडाईका साथ लागु गराउन मन्त्रालयले डिपार्टमेन्टल स्टोरलगायतका व्यापारिक केन्द्रमा निगरानी बढाउने पौडेलले बताए ।


पुष्प दुलाल