झापाको लखनपुर गाविसमा जन्मदर्ता गराउँदा उपहार



दमक । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ ।

यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए ।

उनका अनुसार गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पुर्याउन सो नौलो कार्यक्रम थालिएको हो । साे सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु,साबुनलगायत पोका नै उपहार दिने गर्छ ।

गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ । उक्त कार्यक्रम झापामा नै पहिलो नौलो कार्यक्रम भएको सचिव शाक्यले जिकिर गरे ।

उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् ।

उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ । गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन् । कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ ।  रासस


क्लिकमान्डु