पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउन चीनियाँ राजदूतको आग्रह



काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा आज संघका पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मण्डलले चीनका नव नियुक्त राजदूत यु होङसंग भेट गरी नेपाल र चीन बीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरेको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले संघका क्रियाकलाप तथा भावी योजनाहरुबारे जानकारी दिँदै नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि अनुरोध गरे । साथै चीनका प्रमुख व्यापारिक केन्द्रहरुमा नेपाली निर्यातयोग्य सामानहरुको मेला, प्रदर्शन गरे नेपाली उत्पादित सामग्रीहरुको व्यापार प्रवद्र्धनमा मद्दत पुग्ने विचार व्यक्त गरे । नेपालमा आएको महाभूकम्प पश्चात चीनिया पर्यटकहरुको आगमनमा कमी आएको हुँदा थप हवाइ सम्पर्क, नेपालको पर्यटन बजारबारे प्रवद्र्धन गरी पर्यटन बृद्धिका लागि समेत अनुरोध गरे ।

उक्त अवसरमा नवनियुक्त राजदुत यु होङले दुई देशको आर्थिक तथा व्यापारिक कार्यलाई प्रवद्र्धन गर्न नेपाल चीन उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने बताईन् । चीनले २०१७ लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने जानकारी दिँदै नेपालमा पूर्वाधारको विकास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती आदि कार्य गर्दै पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु ल्याउनु पर्ने बताईन् ।

प्रतिनिधिमण्डलमा उपाध्यक्षहरु त्रिभुवनधर तुलाधर, पञ्चरत्न शाक्य, महासचिव राष्ट्रभुषण चाकुबजी, कोषाध्यक्ष मदन मित्तल तथा कार्यसमितिका सदस्यहरु सम्मिलित रहेका थिए ।


क्लिकमान्डु