निर्धारित समयभन्दा ८ वर्षपछि खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न



काठमाडौं । खिम्ती- ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो ।

जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्रसारण लाइन निर्माण भएपछि भारतबाट आयात गरिएको विद्युत् ढल्केबर-खिम्ती-लामोसाँघु हुँदै काठमाडौँ भित्र्याउन सहज भएको अधिकारीको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनअनुसार नै प्रसारण लाइन सम्पन्न भएको तथा प्राधिकरणले महत्वपूर्ण सफलता हासिल गरेको उनले बताए ।

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रे पावर’ ट्रान्समिसन र ‘मुडभरी एन्ड जेभी’लाई मासिक ११ लाख हर्जना तिर्दै आएको थियो ।

सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत रु ६ करोड ६० लाख तिरिसकेको छ । आयोजना सम्पन्न भएपछि उक्त भार समेत बहन गर्नुनपर्ने भएको छ ।

विश्व बैंकको रु दुई अर्ब १५ करोड ६० लाख ऋण सहयोगमा उक्त आयोजना सन् २००६ मा सुरु भएको हो । प्रसारण लाइन सम्पन्न भएपछि बर्से्नि रु एक अर्ब प्राधिकरणलाई फाइदा हुनेछ ।

विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेरगइरहेको छ । करिब ७३ किलोमिटर दुरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती काठमाडौँ भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । रासस


क्लिकमान्डु