धान बढी फल्दा आर्थिक बृद्धिदर लक्ष्य अनुसार



काठमाडौं। धानको उत्पादन बढी हुँदा सरकारलाई लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हासिल गर्न सहज हुने भएको छ । विकास खर्चको अवस्थामा अघिल्लो वर्षको जस्तै सुधार नआएपनि धान बढी फल्दा सरकारलाई लक्ष्य भेट्टाउन सहज हुने भएको हो । सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ ।

सरकारको प्रमुख सल्लाहकारको रुपमा रहने राष्ट्र बैंकले धान उत्पादनमा बृद्धि भएको भन्दै लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको हो । राष्ट्र बैंकले जारी गरेको मंसिर महिनासम्मको बर्तमान आर्थिक स्थिति अनुसार आर्थिक बृद्धिदर लक्ष्य अनुसार हुने बताएको छ । ‘ कृषि क्षेत्रको बृद्धिदर अपेक्षा गरेभन्दा राम्रो भएको हुँदा यो वर्ष लक्ष्य अनुसार आर्थिक बृद्धि हुने देखिन्छ,’राष्ट्र बैंकले भनेको छ ।

कृषि विकास मन्त्रालयले हालै सार्वजनिक गरेको वर्षे बालीहरुको उत्पादन विवरण अनुसार यस वर्ष धानको उत्पादन करीब २१.७ प्रतिशतको उल्लेख्य दरले वृद्धि हुने अनुमान छ । कृषि क्षेत्रको उत्पादनमा २०.८ प्रतिशत हिस्सा रहेको धानको उत्पादनमा हुन उपरोक्त वृद्धिबाट समग्र कृषि क्षेत्रको उत्पादन उत्साहजनक रहने अनुमान केन्द्रीय बैंकले गरेको हो ।

राष्ट्र बैंकले ६.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण गरेपनि अन्तराष्ट्रि संस्थाहरुले भने ५ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर हासिल नहुँने प्रक्षेपण गरेका छन् । यद्यपी हरेक वर्ष आर्थिक बृद्धिदरका प्रक्षेपणमा भिन्न भिन्न तथ्य बाहिर आउने गरेको छ । विश्व बैंक,आइएमएफ र एशियाली विकास बैंकले घट्दो रेमिटेन्स बृद्धिदरको कारण नेपालको आर्थिक बृद्धिदरमा असर पर्ने बताएका छन् । भारतले लगाएको ठूला नोटको प्रतिबन्धको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने अनुमान क्रेडिट रेटिङ ऐजेन्सी फिचले गरेको थियो । हालै मात्र आइएमएफले १००० र ५०० मा लगाएको नोटको प्रतिबन्दको कारण भारतको आर्थिक बृद्धिदर घट्ने सार्वजनिक गरेको छ ।


क्लिकमान्डु