सशांक दाइ ! तपाइले बनाएको सुशील कोइराला फाउन्डेसनले पनि बिपी र जिपीको नाममा जस्तै गरी राज्यकोष लुट्ने त होइन ?



काठमाडौं, ६ माघ । २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्यायो । अनि काँग्रेस सभापति विपी कोइराला प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेपछि राष्ट्रिय योजना आयोगको बैठक बोलाइयो ।

राष्ट्रिय योजना आयोगको हलमा राजा महाराजाहरुको तस्बीर झुण्ड्याइएको थियो । प्रधानमन्त्री विपीलाई यो कुरा मन परेन । अनि उनले त्यो तस्बीर हटाएर हलो जोत्दै गरेको किसानको तस्बीर राख्न निर्देशन दिए ।

योजना बनाउदा राजा महाराजा होइन, ग्रामीण क्षेत्रका किसानलाई हेरेर बनाउनु पर्छ भन्ने आशयले विपीले किसानको तस्बीर राख्न निर्देशन दिएका थिए । एउटा परिवारसँग एक हल गोरु होस्, एउटा लैनो गाई होस्, अलिकति करेसाबारी होस र खेती गर्ने अलिकति जमिन होस भन्ने सपना विपीको थियो ।

पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार यो बर्ष मात्रै विपी र जिपीको नाममा खुलेका प्रतिष्ठानहरुले ५ करोड २५ लाख रुपैयाँ राज्यकोषबाट रकम लगेका छन् ।

तर उनी २ बर्ष पनि प्रधानमन्त्री बन्न पाएनन् । राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गर्दै निरंकुस पन्चायती ब्यवस्था लागू गरे । त्यसपछि विपीको जीबन जेल, निर्वासन, जेल हुदै सकियो ।

कोइराला परिवारसँग २ दशकभन्दा लामो समय सँगै रहेका काँग्रेस नेता शोभाकर पराजुलीका अनुसार विपीको आर्थिक अनुशासन साच्चै नै गर्व गर्न लायक थियो । कुनै काममा कुनै नेता वा कार्यकर्ता पठाउनु पर्यो भने त्यहाँ पुग्न लाग्ने गाडीभाडा, खाना खर्च, अन्य पकेट खर्च जस्ता एक एक हिसाब गरेर खर्च दिन्थे । आफू पनि त्यसै गर्थे । आफूसँगै खाना खाने सबै ब्यक्तिलाई जस्तो थालमा दिन पुग्छ आफू पनि त्यस्तै थालमा त्यस्तै खाना खान्थे । अर्थात सवैलाई थालमा पुग्छ भने मात्रै आफू थालमा खाना खान्थे । नभए सवैले पातमा खानुपर्छ भन्थे ।

अर्थात विपीले जीबनभर गरिब र निमुखा जनतालाई राज्यको मूलप्रवाहमा ल्याउनु पर्छ भन्ने सन्देश प्रवाह गरे । त्यसैको लागि जीबनभर संघर्ष गरे । सार्बजनिक सम्पत्तिको दुरुपयोग गर्नै हुन्न भन्ने आदर्श बोकेर हिडे ।

अब अलिकति कुरा गिरिजा प्रसाद कोइराला (जिपी) को गरौं । जिपी पटक पटक प्रधानमन्त्री बने । उनका कार्यकालमा विभिन्न काण्डहरुको चर्चा पनि भयो । भ्रष्टाचारका कुराहरु आए । तर उनले ब्यक्तिगत सम्पत्ति कमाएनन् । जिपीका नाममा अरुले सम्पत्ति कमाएका हुन सक्छन् । तर जिपीले कमाएर एउटा घर पनि जोडेनन् ।

कुनै ठाउमा जादा जिपी आफ्ना सहयोगी, अंगरक्षक, सवारी चालक जस्ता ब्यक्तिहरुले पहिला खाना खाने ब्यवस्था मिलाउन निर्देशन दिन्थे । प्रजातन्त्र बाहेक अरु कुनै चाहना आफूलाई नभएको उनी बताउथे ।

राजा ज्ञानेन्द्रले प्रजातन्त्र हरण गरेपछि जिपीले संसद पुनस्थापनाको माग गरे । उनको त्यो मागलाई धेरैले बेकारको माग भने । तर उनी त्यही मागमा अडिए । २०६३ सालमा उनको माग पूरा भयो । राजा ज्ञानेन्द्रले संसद पुनस्थापना गरे । संसदीय ब्यवस्थाले जनताताई अधिकारसम्पन्न बनाउनै सक्दैन भन्दै १० बर्षदेखि ससस्त्र विद्रोह गरिरहेको माओवादी पनि त्यही पुनस्थापित संसदमा आयो । आजसम्मको परिवर्तन त्यही संसद पुनस्थापनाको जगमा टेकेर सम्भब भएको छ ।

अर्थात राज्यसत्ता कसैको बपौति होइन । सबै नागरिकको बराबर हक हुन्छ । राज्यकोष लुट्न पाइदैन । जनताको सम्पत्तिमा जनताकै हक लाग्छ । जिपी यो आदर्श बोकेर जीबनभर संघर्षमा रहे ।

यी कोइराला दाजुभाइको जीबन प्रजातन्त्रको लागि लड्दैमा वित्यो । दुबैले नागरिक सर्बाेच्चतालाई आफ्नो लडाइएको मुख्य लक्ष्य बनाए । तर विपी र जिपीको निधन पछि उनीहरुको नाममा प्रतिष्ठान खोल्ने र राज्यकोषबाट बार्षिक करोडौं रकम लिने प्रबृत्ति बढेको छ ।

पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार यो बर्ष मात्रै विपी र जिपीको नाममा खुलेका प्रतिष्ठानहरुले ५ करोड २५ लाख रुपैयाँ राज्यकोषबाट रकम लगेका छन् ।

यसमध्ये विपीको नाममा खुलेका संस्थाहरुले २ करोड ८० लाख रुपैयाँ लगेका छन् । र, जिपीको नाममा खुलेको प्रतिस्ठानले २ करोड ४५ लाख रुपैयाँ पर्यटन मन्त्रालयबाट मात्रै लगेको छ ।

काठमाडौंमा विपी कोइराला मेमोरियल ट्रष्ट छ । त्यो ट्रष्टले चालु आर्थिक बर्ष मात्रै पर्यटन मन्त्रालयबाट २ करोड रुपैयाँ लगेको छ ।

यस्तै काठमाडौंकै सुन्दरीजलमा विपी संग्रालय छ । त्यो संग्रालयलाई मन्त्रालयले ४५ लाख रुपैयाँ दिएको छ ।

विपीको नाममा अरु पनि संस्था छन् । काठमाडौंमै जननायक विपी कोइराला स्मृति ट्रष्ट छ । यो ट्रष्टलाई पर्यटन मन्त्रालयले यो बर्ष मात्रै ५ लाख रुपैयाँ अनुदान दिएको छ ।

विपी विचार राष्ट्रिय समाज काठमाडौलाई राज्यकोषबाट २० लाख रुपैयाँ अनुदान दिइएको छ । यस्तै विपी चिन्तन प्रतिष्ठान काठमाडौंले राज्यकोषबाट १० लाख रुपैयाँ अनुदान लिएर गएको छ ।

काठमाडौंमा नै जिपी कोइराला फाउन्डेसन छ । यो फाउन्डेसनले चालु आर्थिक बर्षमा २ करोड ४५ लाख रुपैयाँ अनुदान पर्यटन मन्त्रालयबाट पाएको छ ।

केही साता अगाडि मात्रै काँग्रेस पूर्वसभापति सुशील कोइरालाको नाममा प्रतिष्ठान स्थापना भएको छ । सुशील कोइराला फाउन्डेसन नामको प्रतिष्ठान काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले स्थापना गरेका छन् ।

आफ्ना बुवा विपी र काका जिपीको नाममा प्रतिष्ठान स्थापना गरेर राज्यकोषको रकम दुरुपयोग गरिएको जानकारी सशांक कोइलालाई हुनुपर्ने हो । अब स्थापना गरिएको सुशील कोइराला फाउन्डेसनले पनि राज्यकोषबाट नै अनुदान माग्ने हो कि होइन ?

सशांक दाइ ! नेपालको प्रजातान्त्रिक आन्दोलनमा विपी, जिपी र सुशील कोइरालाको योगदान अमूल्य छ । यी तीनै ब्यक्तित्व गरिब निमुखा जनताले करको रुपमा तिरेको राज्यकोषबाट आफ्नो निहित स्वार्थपूर्ति गर्न चाहन्नथे ।


क्लिकमान्डु