धनकुटाको हिलेमा होटल होराइजन माउण्टेन रिसोर्ट खुल्यो



काठमाडौं । धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधा सम्पन्न होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ ।

व्यवसायी रेवत बहादुर थापाले करीब २० करोड रुपैयाँको लगानीमा रिसोर्टको निर्माण तथा सञ्चालन गरेका हुन् । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओलीले बुधवार एक कार्यक्रमका बिच होटलको उदघाटन गरे ।

करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१ कोठाहरु र ६ वटा कटेज रहेका छन् । होटलमा एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ । होटलमा करीब ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पनि पाउने होटलले जानकारी दिएको छ ।

रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार तथा सम्मेलन गर्न मिल्ने सुविधा रहेको छ । ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट नजिकै पिकनिक स्पटको व्यवस्था गरिएको छ भने आकर्षक चिया बगान पनि रहेको छ । रिसोर्टमा खपत गर्ने उद्देश्यले आफ्नै अर्गाेनिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्म समेत सञ्चालन गरेको छ ।

त्यसैगरी होटललाई चाहिने वायो ग्यास र वायु ऊर्जा उत्पादन गरेको छ । होटल व्यवसायमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एशियन स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरुलाई ईन्टर्नको पनि व्यवस्था गरेको छ ।

रिसोर्टले आफ्ना पाहुनका लागि घोडचढी, साइक्लिङ र दृश्यावलोकनको पनि सेवा दिने बताएको छ भने पाहूनाको अनुरोधमा काठमाडौं र विराटनगर विमानस्थलदेखि पिकअप र ड्रपको पनि ब्यवस्था गरेको छ । रिसोर्टले आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकका पाहुनाहरुलाई समेत सेवा दिने लक्ष्य लिएको होटलले जनाएको छ ।


क्लिकमान्डु