एक महिनामा ६२ अर्बले बढ्यो बैंकहरुको कर्जा, निक्षेप ४४ अर्बले मात्रै



काठमाडौं । वाणिज्य बैंकहरुलाई लगानी गर्न मिल्ने रकम (तरलता) को अझ बढी चाप परेको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा तरलतामा थप दबाब परेको हो ।

पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब रुपैयाँ कर्जा बढाएका छन् । जबकी यही समयमा बैंकको निक्षेप ४४ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल वाणिज्य बैंकहरुको निक्षेप १९ खर्ब ७ अर्ब रुपैयाँ छ भने १५ खर्ब ९० अर्ब रुपैयाँ कर्जा छ । ठीक एक महिना अघि निक्षेप १८ खर्ब ६३ अर्ब र कर्जा १५ खर्ब २८ अर्ब रुपैयाँ थियो ।

अब विकास खर्च बढाउँछौं र सामाजिक सुरक्षा भत्ता पनि धमाधम निकासा गर्छौ, जसले माघ महिनामा मात्रै बजारमा ४० अर्बको हाराहारीमा तरलता प्रबाह हुन्छ,’ राजस्व सचिव राजन खनालले भने ।

निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढेपछि बैंकहरुलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्न निकै कठिन हुन थालेको छ । बैंकहरुसँग लगानी गर्न मिल्ने पुँजी अत्यन्तै कम छ ।

केही महिनादेखि बैंकहरुलाई तरलता अभावको चाप परेको हो । तरलता अभाव भएपछि निक्षेप आकर्षित गर्न बैंकहरुले धमाधम व्याजदर बढाइरहेका छन् । प्रणालीमा पैसा नभएकाले अपेक्षा गरेअनुसार निक्षेप थपिन सकेको छैन ।

सरकारले विकास खर्च गर्न नसक्दा त्यसको असर बैंकहरुको तरलतामा देखिएको राजस्व सचिव राजन खनाल बताउँछन् ।

तरलताको समस्या समाधान गर्नका लागि सरकारले माघदेखि तीब्र गतिमा विकास खर्च बढाउने उनको भनाई छ ।

‘अर्थ मन्त्रालयले पुस मसान्तमा मात्रै बजारबाट मोटो रकम उठाएको छ, तर विकास खर्च हुन नसक्दा बजारमा पैसाको प्रभाह भएको छैन, जसले बैंकिङ क्षेत्रमा तरलताको समस्या ल्याएको हो,’ खनालले भने ।

सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी रकम थन्किएर बसेको छ ।

‘अब विकास खर्च बढाउँछौं र सामाजिक सुरक्षा भत्ता पनि धमाधम निकासा गर्छौ । जसले माघ महिनामा मात्रै बजारमा ४० अर्बको हाराहारीमा तरलता प्रबाह हुन्छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले तरलताको समस्यामा राहत दिने उद्देश्यले २ पटक ४०/४० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरिसकेको छ । तर, बैंकहरुले राष्ट्र बैंकको सो सहयोग लिइरहेका छैनन् ।

यतिखेर बैंकहरुले संस्थागत निक्षेपकर्ताको मुद्दति निक्षेपमा साढे १३ प्रतिशतसम्म व्याज दिइरहेका छन् भने व्यक्तिगत निक्षेपकर्तालाई पनि ११.११ प्रतिशतसम्म व्याज दिइरहेका छन् ।

तर, राष्ट्र बैंकले ६ महिनाका लागि निकालेको ऋणपत्रमा भने ३ प्रतिशतभन्दा कम व्याजदर दिनेगरी बिडिङ गरिरहेका छन् । एकातिर तरलता अभाव भएको भन्दै रोइलो गर्ने बैंकहरुले अर्कातिर राष्ट्र बैंकले गरेको सहयोग लिइरहेका छैनन् ।


पुष्प दुलाल