२०६२ सालमा पहिरोले बगाएको कुलो निर्माण नहुँदा पचास परिवार विस्थापित



बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली गाविस वडा नं ३ स्यालतडी मुद्रेका ५० घरपरिवार सिचाई कुलो भत्किएपछि विस्थापित भएका छन् ।

विसं २०६२ भदौमा आएको पहिरोले २०५ रोपनी खेत सिचाई गर्ने कुलो भत्किएपछि हालसम्ममा ती परिवार विस्थापित भएको स्थानीय जयदत्त भट्टले जानकारी दिए । सुर्नया नदीबाट तीन किलोमिटर टाढाबाट परम्परागतरुपमा स्थानीयले निर्माण गरेको कुलो भत्किएपछि आफूहरुले विस्थापित हुनुपरेको हो, उनको भनाइ थियो ।

कुलोभत्केपछि कुलो निर्माणका लागि सरकारी निकायहरुसंग धाउँदा समेत केही पार नलागेपछि आफूहरुले विस्थापित हुनुपरेको स्थानीय लालमणि भट्ट बताउँछन् ।

वर्षको तीनखेती हुने मैदानी फाँट सिचाईको अभावमा बाँझै रहेपछि अहिले हातमुख जोर्न समेत समस्या भएको छ । दलका नेताहरुले पनि आफुहरुको समस्या नबुझेको उनीहरुको गुनासो छ । चुनावमा भोट माग्न आउँदा आश्वासन मात्रै दिए । चुनाव जितेपछि फर्केर पनि नहेरेको स्थानीयको गुनासो छ ।

धान, गहुँ र फलफूल प्रशस्त फल्ने स्यालतडी मुद्रेमा अहिले सिस्नु फुलेको उहाँले बताउनुभयो । जिल्ला विकास समितिले कुलो निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेकाले यो वर्ष समस्या समाधान हुने जिल्ला विकास समिति बैतडीका सूचना अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए ।

स्यालतडी मुद्रेका बासिन्दाको खाद्य अधिकार हनन् भएको भन्दै याक नेपाल, कैलालीले पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको याक नेपालका वरिष्ठ कार्यक्रम अधिकृत देवी खनालले जानकारी दिए ।

कुलो भत्केको एक दशक बित्दासमेत समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । सङ्घर्ष समिति गठन गरेर तीन वर्षयता जिविस, खानेपानी, सिचाई, कृषि लगायतका कार्यालय धाउँदै आएको भएपनि समस्या कसैले नबुझेको उनीहरुको गुनासो रहेको छ । रासस


क्लिकमान्डु