कृषि विकासबाट १२ हजार ऋण लिएर गाई पालेँ : महरा



काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिएका छन् ।

कृषि विकास बैंकको ५० औ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महराले अर्थ मन्त्रालयले हालै ल्याएको सम्बृद्ध नेपालको लागि दीगो आर्थिक विकास अभियानलाई सहयोग पुग्ने गरी काम गर्न बैंकलाई निर्देशन दिए ।

बैंकबाट आफले कुनै बेला १२ हजार कर्जा लिएर गाई पालेको स्मरण गर्दै महराले १० वर्ष अगाडि कृषि विकास बैंकले वाणिज्य बैंकको कारोवार सुरु गरेपछि रोल्पामा निक्षेप खाता खोलेको जानकारी दिए । ‘अन्य वाणिज्य बैंकभन्दा कृषि विकास बैंक गाउँसम्म फैलिएको छ, किसानसँग पुगेको बैंक भएको हुँदा बैंकले अहिले राम्रा काम गर्दै गएको छ,’ अर्थमन्त्री महराले भने ।

किसानलाई कर्जा दिनको लागि स्थापना भएको कृषि विकास बैंकले २०६२ सालदेखि बाणिज्य बैंकको रुपमा सेवा सुरु गरेको थियो । विगतमा अति राजनीतिक हस्तक्षेपको कारण वित्तीय अवस्था कमजोर रहेको बैंकको अहिले वित्तीय स्वास्थ्य भने राम्रो बन्दै गएको छ ।

बैंकको ५० औ वार्षिक उत्सवको अवसरमा लामो समय काम गर्ने कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । बैंकले सेवालाई आधुनिकरण गर्दै लैजाने उद्देश्यले मोबाइल बैकिङ तथा भिसा कार्डको  शुरुवात गरेको छ ।


क्लिकमान्डु