शनिबारसम्म चिनियाँ जहाज आउने, स्पेयर पार्टस र प्राविधिक विषयमा लिखित प्रतिबद्धता



काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ ।

चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले बताए ।

शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ ।

यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिए।

चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ भने अब आउने जहाज भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । एम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ ।

यस्तै निगमको अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग निगमले प्रारम्भिक सम्झौताका लागि आवश्यक गृहकार्य गरिरहेको छ । यसै साताभित्र प्रारम्भिक सम्झौता गर्नेगरी तयारी गरिएको छ । सो सम्झौतालगत्तै निगमले बैना रकम पठाउने महाप्रबन्धक कंशाकारले जानकारी दिए । रासस


क्लिकमान्डु