७४ अर्ब डलरका मालिक खान्छन् ३ डलरको ब्रेकफास्ट, यस्तो छ मेन्यु



काठमाडौं।बिश्व लगानीकर्ताका बादशाह वारेन बफेटसँग ७४ अर्ब डलर बराबर सम्पत्ति छ, जसले उनलाई बिश्वकै तेस्रो धनी ब्यक्ति बनाउँछ ।

तर, तपाईंलाई उनको जिवनको यो तथ्य बारे कहिल्यै थाहा थिएन होला । ८६ बर्षीय यी अर्बपति अहिले पनि अमेरिकाको ओमाहा स्थित ५ बेडरुमको घरमा बस्छन्, जुन उनले सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेका थिए । र, उनी कहिल्यै पनि आफ्नो ब्रेकफास्टमा ३ डलर १७ सेन्ट भन्दा बढि खर्च गर्दैनन् ।

घरबाट अफिस पुग्न गाडीमा पाँच मिनेट लाग्ने बाटोमा बफेट म्याक्डोनाल्डसमा रोकिन्छन् र सधैं तीन मध्ये एक खानेकुरा अर्डर गर्छन् । यो उनले बिगत ५४ बर्षदेखि दैनिक गर्दै आएका छन् ।

‘म बिहान दाह्रि काट्दै गर्दा मेरी श्रीमतीलाई २.६१, २.९५ वा ३.१७ डलर माग्छु । र, उनले मेरो गाडीको सानो कपमा त्यो रकम राखिदिन्छिन्’, बफेटले एचबिओ टिभीको एक वृत्तचित्रमा बताएका थिए ।

ती फरक फरक पैसाले मैले खाने फरक फरक खानाको प्रतिनिधित्व गर्छन् ।

‘म आफु खासै धनी नभएको महसुस गर्दा २ डलर ६१ सेन्टको दुईवटा ससेज प्याटि र कोक खान्छु’ उनले वृत्तचित्रका निर्देशक पिटर कुनहार्टलाई बताएका थिए ।

‘३ डलर १७ सेन्ट चाहिँ बेकन, अण्डा र चिज बिस्कुटकाे लागि हो । तर, आज मार्केट घटेको छ, त्यसैले आज २ डलर ९५ सेन्ट मात्र खर्च गर्छु ।’

बफेट आफ्नो खाना अर्डर गर्न पैसा ठ्याक्क मिलाएर मात्र जान्छन् ।


क्लिकमान्डु