सडक विस्तारसँगै छोटिए पदमार्ग



पोखरा । पदयात्रा पर्यटनका लागि अन्तर्राष्ट्रिय रुपमा नेपालले आफ्नो विशिष्ट पहिचान बनाए पनि अव्यवस्थित सडक विस्तारले पदमार्ग छोटिनु यतिखेर चिन्ताको विषय बनेको छ ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकोमा जथाभावी गरिएका सडक विस्तारले समग्र पदयात्रा पर्यटन नै धरासायी बन्ने हो कि भन्ने चिन्ता थपेको छ ।

पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी रुपमा गरिएका सडक विस्तारले भूक्षय जस्ता प्राकृतिक प्रकोप त बढेको छ नै यसले नेपालको पदयात्रा पर्यटनलाई गम्भीर असर पारेको पदयात्रा सम्बद्ध व्यसायीको तर्क छ ।

नेपालको पदयात्रा पर्यटनमा ठूलो आकर्षण रहे पनि आवश्यकता र औचित्य बिना नै बाटो खन्ने नाममा भएका सडक विस्तारले उक्त क्षेत्रमा गम्भीर समस्या देखापरेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताए ।

पदयात्रा क्षेत्रमा जथाभावी बाटो नखनी ती मार्गको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि त्यसको सुनुवाइ नहुँदा पदमार्ग छोटिन गएको उनको भनाई छ । ‘पदमार्गको संरक्षण र विकासको उद्देश्यले पदयात्रा क्षेत्रलाई संरक्षण क्षेत्र घोषित गर्न सरकारसँग माग गरेका छौँ, पदयात्रा क्षेत्रमा जथाभावी सडक नखन्न माग गर्दा विकास विरोधी भन्ने आरोप पनि लाग्ने गरेको छ ।’ उनले भने ।

सरकारले भएका पदमार्गकै ठाउँबाट जथाभावी बाटो खनेकै कारण समस्या आएको बताउँदै उहाँले पर्यटकले लाखौँ रुपैयाँ खर्च गर्ने मार्गमा थोरै रकम खर्च गरे पुग्ने किसिमले पदमार्ग छोटिनु पदयात्रा पर्यटनको गम्भीर चिन्ताको विषय भएको बताए । पदमार्ग छोटिएकै कारण पदयात्रीलाई सेवा प्रवाह गरी अन्नपूर्ण सर्किटमा पर्ने स्योङ, जगत, च्याम्से, धारापानी, ढिकुरपोखरी, चामेलगायत ठाउँमा बस्दै आएका हजारौँ परिवार यतिखेर विस्थापित हुने अवस्थामा पुगेका छन् । रासस


क्लिकमान्डु