काठमाडौंमा मोनोरेल गुडाउने महानगरपालिकाको तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ ।

महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो ।

महानगरपालिका र सेमेक्स कम्पनीबीच मोनोरेलको सम्भायता अध्ययनको लागि सम्झौता भएको छ । सम्झौतामा महानगरका तर्फबाट प्रवक्ता ज्ञानेन्द्र कार्की र वाइबिडी सिमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले हस्ताक्षर गरे ।

महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँमा मेट्रो रेलको भन्दा मोनो रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको बताए ।

कम्पनीले तीन महिनाभित्रै काठमाडौँको कुनै १० किमीको रुटमा मोनो रेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रसिद्धजङ्ग पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने पनि जानकारी गराउँदै ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । मोनोरेल आकाशमा गुुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै किसिमको असर हुने छैन ।


क्लिकमान्डु