गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी जोड्ने नमुना सडक निर्माण तीव्रगतिमा



बुटवल । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाका रुपमा लिइएको छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल तथा लुम्बिनी पुग्न सो सडकलाई वैकल्पिक मार्गका रुपमा अगाडि बढाइएको छ । सडकको दुवैतर्फ हरियालीसहितको उद्यान निर्माण गर्ने योजना छ । उक्त सडकलाई पर्यटकीय सडकका रुपमा विकास गर्ने योजना छ ।

लुम्बिनी घुम्न आउने पर्यटक निर्माण भएपछि यही सडकको उपयोग गर्नेछन् । बेलवास–बेथरीसम्मको चार लेनको सडक निर्माण कार्यले तीव्रता पाएको छ । सो सडकअन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहरको दुवैतर्फ पक्की पर्खाल निर्माण कार्य सकिएको छ भने अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण कार्य चलिरहेको छ । पहिलो चरणमा सो नहरको दुवैतर्फको सडक कालोपत्र गर्ने योजना छ ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख, मेघराज मरासिनीका अनुसार उक्त सडक मुलुककै नमुनाको रुपमा रहेको छ । बुटवलको बेलवास झोलुङ्गे पुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म करिब २१ किलोमिटर लामो सो  सडक निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न हुने उनले बताए ।

उक्त सडकखण्डअन्तर्गत पर्ने नहरलाई व्यवस्थित गरीने र नहरको दुवैतर्फ सात–सात मिटर फराकिलो सडक तथा पौने दुई मिटरको साइकल लेन समेत निर्माण गरिने छ । निर्माणाधीन बुद्धनगरस्थित पक्की पुलले उक्त सडकलाई बुटवलसँग जोड्ने छ । उक्त सडक निर्माणमा करिब रु दुई अर्ब लाग्ने अनुमान गरिएको छ । बेलवास–बेथरीसँगै यसैवर्षदेखि भैरहवा– लुम्बिनी ६ लेन तथा बुटवल–पाल्पा ४ लेन सडक निर्माणको तयारी थालिएको छ । विमानस्थल सञ्चालन अगाडी बुटवल–भैरहवा ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट तथा लुम्बिनी परिक्रमा पथको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस


क्लिकमान्डु