सगुनको मिनी आइपिओ आजदेखि, बिदेशमा बस्ने नेपालीले लगानी गर्न पाउने




काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको अग्रसरतामा खुलेको सामाजिक सञ्जाल सगुनले फ्रेब्रेवरी ९ देखि सर्वसाधारणका लागि २ करोड अमेरिकी डलर बराबरको मिनी आइपिओ खुल्ला गरेको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै सगुनले सर्वसाधारणले कम्तीमा २९९ डलर बराबरको सेयर (प्रति कित्ता २३ डलरका हिसाबले १३ कित्ता) किन्न सक्ने जानकारी दिएको छ ।

गत हप्ता अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनले स्वीकृति दिएपछि सगुनले ‘सि’ बर्गको ८ लाख ६९ हजार ५ सय ६४ कित्ता सेयर प्रतिसेयर २३ डलरका हिसाबले सर्वसाधारणलाई बेच्न लागेको हो ।

नेपालको लगानी सम्बन्धी कानुनले बिदेशमा लगानी गर्न बन्देज लगाएका कारण नेपालबाट भने सगुनमा लगानी गर्न पाइने छैन ।

तर, बिदेशमा बस्ने नेपाली र एनआरएनको लागि भने यो लगानीको राम्रो अवसर हुनसक्छ । यसका लागि सगुनको वेबसाइटमा गएर फारम भरेपछि प्राप्त हुने इमेलको कपी आफ्नो बैंकमा लगेर सो कपीसँगै आफुले लगानी गरेको रकम बुझाएपछि बैंकले वायर ट्रान्सफरको माध्यमबाट लगानीकर्ताको पैसा अमेरिकामा ब्रोकर हुँदै सगुनको खातासम्म पु¥याउँछ ।

सगुनले यसअघि सिमित मान्यता प्राप्त लगानीकर्तालाई कम्तीमा ५ हजार डलरका हिसाबले ५० लाख डलर बराबरको सेयर बिक्री गरिसकेको छ ।

सगुनले यसअघि आफ्नो वेबसाइटमा गरेको एक सर्वेक्षणमा बिश्वभरिबाट ४ हजार लगानीकर्ताले ७० लाख डलर बराबरको लगानीको लागि रुचि देखाएका थिए ।

हाल चल्तीमा रहेका सामाजिक सञ्जालहरु फेसबुक र ट्विटर भन्दा सगुन आधारभुत रुपमै फरक रहेको यसका प्रवर्तकहरुको दाबी छ । उनीहरुका अनुसार सगुनमा प्रयोगकर्ताले आफुले आफ्नो समय सगुनमा बिताए बापत केही पैसा समेत पाउँछन् ।

सगुनले यस मिनी आइपिओबाट संकलन गरेको पैसा मोबाइल एप निमार्ण, अनुसन्धान, सोसल स्मार्ट कार्डको सुरुवात र आफ्ना प्रयोगकर्ता बढाउने काममा खर्च गर्ने जनाएको छ । हाल सगुनका बिश्वभर करिब ४ लाख प्रयोगकर्ता छन् ।

सगुनको कम्पनी मुल्याङ्कन सन् २०१५ मा १ करोड पचास लाख डलर रहेकोमा हाल ९ करोड ३ लाख डलर छ । प्रतिमहिना १३ हजार प्रयोगकर्ता बढाइरहेको सगुन बिश्वको बिभिन्न क्षेत्रमा बिस्तारित हुँदै गैरहेको छ ।


क्लिकमान्डु