स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँछन्



रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आएका छन् ।

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले मात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गरेका हुन् ।

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आएका छन् ।   एकाबिहानै होस् वा राति अबेरसम्म, उहाँको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक रु. ५० हजारभन्दा बढी आम्दानी गर्छन् ।  अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उनले बताए ।

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वाबलम्बी बन्ने रहर थियो ।

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिएपनि  र परीक्षामा सहभागी हुनुभयो तर सफल हुन सकेनन् । त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर काठमाडौँ आए ।   यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौँ पुगेका वलीले निरन्तर छ महिनासम्म काठमाडौँको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिए । वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो ।
परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उहाँले सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुप¥यो । एकजना काठमाडौँका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उनको  मानसपलटमा अझै ताजै छ ।
यसरी करिव छ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्किए  र आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा आफ्नै सैलुन सुरु गरे ।

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उनी २०६७ सालतिर रोल्पा लागे ।

मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने धारणा छ ।  रासस


क्लिकमान्डु