सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक भित्रिए, बिशेष कार्यक्रम ल्याउने बोर्डको तयारी




काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन ।

यो संख्या सन् २०१५ मा भन्दा ४३ हजार बढि हो । अघिल्लो वर्ष ७५ हजार भारतीय पर्यटक भित्रिएको पर्यटक बोर्डले जानकारी दिएको छ ।

नेपाल पर्यटन बोर्डका मिडिया कन्सलटेन्ट शरद प्रधानका अनुसार अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण भारतीय पर्यटनको आगमनमा कमी आएको थियो । तर सन् २०१५ मा भन्दा यो बर्ष केही सुधार भएको बोर्डको भनाइ छ । तर सन् २०१६ को अन्त्यतिर भारतले हजार र ५ सय दरका नोटमा गरेको प्रतिबन्दको कारण अपेक्षा गरिएभन्दा कम भारतीय पर्यटनक नेपाल आएको प्रधानले जानकारी दिए ।

‘सन् २०१५ मा भारतीय नाकाबन्दीको कारण नेपाल नेपाल आउने भारतीय पर्यटकको संख्या केही घटेको थियो, सन् २०१६ मा धेरै पर्यटक नेपाल आउने सम्भाबना भएपनि बर्षको अन्त्यतिर भारतले नोटबन्दी गरेपछि केही संख्या अझ घट्यो,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

भारतीय पर्यटकहरु नेपालमा खासगरी धार्मिक, मनोरञ्जन र क्यासिनोमा जुवा खेल्नका लागि आउने गरेका छन् । नोटबन्दीले धार्मिक पर्यटनमा खासै ठूलो प्रभाव नपरेपनि मनोरञ्जन र जुवा खेल्न आउने पर्यटनमा कमि देखिएको उनले बताए ।

नेपाल भित्रिने पर्यटकमा भारतीयको हिस्सा ठूलो छ । नेपाल भित्रिने पर्यटकहरुमा भारत पहिलो स्थानमा रहेको छ भने चीन दोश्रो स्थानमा छ । चीनबाट २०१६ मा १ लाख ४ हजार पर्यटन भित्रिएका थिए ।

२०१५ आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपालमा पर्यटकको आगमनमा कमी देखिएको थियो । पर्यटन बोर्डले नेपालमा सम्भावना हुदाहुँदै पर्यटन भित्राउनका लागि कुनै विशेष योजना निर्माण गर्नसकेको छैन । आगामी दिनमा अधिकभन्दा अधिक भारतीय पर्यटक भित्राउन बोर्डले योजना ल्याउने तयारी गरिरहेको प्रधानले जानकारी दिए ।

सन् २०१४ मा १ लाख ३५ हजार भारतीय पर्यटक नेपाल भित्रिएका थिए । हालको अवस्थामा बढेको पर्यटकलाई उल्लेखनीय वृद्धिको रुपमा लिन नसकिए पनि यसलाई सुधारको रुपमा लिनुपर्ने बोर्डको भनाइ छ । सन् २०१५ नेपालको पर्यटन उद्योगका लागि कालो वर्षको रुपमा रहेको थियो ।

त्यस समयमै नेपालमा विनाशकारी भूकम्प, करिब ५ महिना तराई–मधेश आन्दोलन र भारतीय नाकबन्धीको समस्या खेप्नु परेको थियो । सो कारणले नेपालको पर्यटन व्यवसाय धरासाही हुने अवस्था आएको पर्यटन क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुको भनाइ छ ।


क्लिकमान्डु