सानिमा माइको नाफामा छलाङ, चिलीमेको घट्यो



काठमाडौं । बैंक तथा बित्तीय क्षेत्र पछि नेपाली सेयर बजारमा ठूलो उपस्थिति भएको क्षेत्रको जलबिद्युत् क्षेत्र हो । बर्षौं सम्म लोडसेडिङको मारमा पिल्सिएको र भखैरै चुस्त ब्यवस्थापनका कारण तत्कालका लागि मात्र केहि राहत पाएको र दीर्घकालीन समस्या समाधानको लागि जलबिद्युत् क्षेत्रले अझै धेरै प्रगती गर्नुपर्ने परिपेक्षमा नेपालमा जलबिद्युत क्षेत्र प्रति चासो हुनु र पुँजी बजारमा यसको ठूलो हिस्सा हुनु स्वभावीक हो ।

माग भन्दा आपूर्ती निकै कम भएको र अझै केहि हजार मेगावाट बिद्युत देशभित्रै खपत हुने र बजारको समस्या नभएका कारण जलबिद्युत प्रति आम लगानीकर्ताको निकै आकषर्ण रहेको छ ।

अबका दिनमा धेरै साना–ठूला जलबिद्युत कम्पनीका साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिन लागेका र अहिले पनि नेपाली सेयर बजारका लगानीकर्ताले आफ्नो पोर्टफोलियोको उल्लेख्य हिस्सा जलबिद्युतको लागि छुट्याउने गरेको अवस्थामा हाल सेयर बजारमा कारोबार भैरहेका जलबिद्युत् कम्पनीहरुले कस्तो नाफा कमाइरहेका छन् भन्ने जानकारी राख्नु महत्वपूर्ण छ ।

नेपाली सेयर बजार नेप्सेमा नियमित कारोबार हुने १२ जलबिद्युत कम्पनी मध्ये ८ ले आफ्नो अर्ध बार्षिक बित्तीय बिवरण प्रकाशित गरिसकेका छन् । अन्य धेरै सूचकहरुका अलावा लगानीकर्ताको सबैभन्दा पहिला आँखा जाने सूचक भनेको खुद नाफाको सूचक नै हो । त्यसैले यहाँ ८ जलबिद्युत् कम्पनीहरुका खुद नाफा प्रस्तुत गरिएको छ ।

हालसम्म बित्तीय बिवरण सार्वजनीक गरेका ८ कम्पनी रिडी, दिब्यश्वरी, बुटवल पावर, अपी पावर, चिलिमे, न्याङ्दी, अरुण भ्याली र सानीमाले संयुक्त रुपमा १ अर्ब २७ करोड रुपैंयाँ खुद नाफा कमाएका छन् । यो गत सालको तुलनामा करिब ४८ प्रतिशतले बढि हो । गत बर्ष सोहि समयसम्म यीनै कम्पनीले ६८ करोड ५४ लाख रुपैंयाँ खुद नाफा कमाएका थिए ।

सानिमा माईहाइड्राले ठूलो फड्को मारेको छ । गत आर्थिक बर्षको सोहि अबधिसम्म १ करोड ९२ लाख नोक्सानमा रहेको कम्पनीले यस बर्ष २५ करोड ४४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

रसुवामा धेरै स्थानीयलाई लखपति बनाएको र जलबिद्युत् क्षेत्र प्रति आम लगानीकर्तालाई निकै आकर्षित गरेको कम्पनी चिलिमेको नाफा भने गत बर्षको तुलनामा थोरै घटेको छ । गत बर्ष ५६ करोड १७ लाख खुद नाफा कामाएको कम्पनीले यस बर्ष ५५ करोड ९२ लाखमै चित्त बुझाउनुपरेको छ ।

अपी पावरले भने राम्रो प्रगति गरेको छ । गत बर्ष ८४ लाख खुद नाफा कमाएको कम्पनीले यस बर्ष ३ करोड ४५ लाख खुद नाफा कमाएको छ ।

अरुण भ्यालीको नाफा करिब ६३ लाखले घटेको छ भने बुटवल पावरको नाफा करिब ५ करोडले बढेको छ । नेप्सेमा भर्खरै कारोबार शुरु भएको दिब्यश्वरी हाइड्रो भनेगत बर्ष झैं यसपाली पनि घाटामै रहेको छ ।


क्लिकमान्डु